कति बेच्यो टोयोटाले हाइब्रिड कार ? फ्यूलसेलमा झट्का

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटाले हाइब्रिड कारको बिक्री २१.१ प्रतिशतले बढाएको छ । विश्वका सबै अटोमोवाइल कम्पनीहरु इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित रहेको समयमा टोयोटा भने हाइब्रिड टेक्नोलोजी मै आफूलाई केन्द्रित गर्दैछ ।

टोयोटाले करिब २० वर्ष अगाडि प्रियस मोडलबाट हाइब्रिड कारको बिक्री सुरु गरेको थियो । विगत २० वर्षदेखि कम्पनीले हाइब्रिड टेक्नोलोजीमा निखारता ल्याउँदै काम गरिरहेको छ । विश्वका धेरै देशका उपभोक्ता माझ कम्पनीले आफ्ना हाइब्रिड भेहिकलहरु रिलायबल, इफिसीयन्ट र अफोर्डेवल रहेको प्रमाणित गर्दै आएको छ ।

सन् २०२४ मा टोयोटाले विश्वभर १ करोड ८ लाख युनिट बिक्री गरेको थियो । त्यसमध्ये हाइब्रिड ४१ लाख ४० हजार कार बिक्री गरेको छ । त्यस्तै प्लगइन हाइब्रिड टेक्नोलोजी भएका कारहरु १ लाख ५३ हजार ८२९ युनिट बिक्री गरेको थियो । प्लगइन हाइब्रिड कारको बिक्री पनि कम्पनीले अघिल्लो वर्षको तुलनामा २३.४ प्रतिशतले बढाएको हो ।

जापनी ब्राण्ड टोयोटाले सन् २०२४ मा फोर्ड, हुन्डाई, जनरल मोटर्स र फक्सवागेन जस्ता पुराना लेगासी अटोमोवाइल ब्राण्डकोभन्दा कम संख्यामा ईभी बिक्री गरेको थियो । कम्पनीले गत वर्ष मात्र १ लाख ३९ हजार ८३२ युनिट ईभी बिक्री गरेको हो । टोयोटाको ईभीको बिक्री पनि अघिल्लोे वर्षको भन्दा ३४.५ प्रतिशतले बढेको हो ।

तर, टोयोटाको ड्रिम प्रोजेक्ट ‘हाइड्रोजन फ्यूलसेल’ कारको बिक्री भने सन् २०२३ को तुलनमा घटेको हो । कम्पनीले सन् २०२३ मा ४ हजार २३ युनिट फ्यूलसेल कार बिक्री गरेकोमा सन् २०२४ मा केबल १ हजार ७७८ यूनिट मात्रै बिक्री गर्न सफल भयो ।


Back_to_top