बजाजको एसेम्बल प्लाण्टले गर्यो ३ वर्ष यताकै धेरै आम्दानी

काठमाडौं । बजाजको दुईपाँग्रे र तीन पाँग्रे सवारी साधन एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापारमा उल्लेख्य सुधार आएको छ ।

इक्रा नेपालले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०२५ को ९ महिनामा ६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले चालु आवको ९ महिनाको आम्दानी गत आर्थिक वर्ष २०२४ को तुलनामा २५.९५ प्रतिशत धेरै हो ।

कम्पनीले आव २०२४ मा ५ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, आव २०२३ मा ५ अर्ब ६१ करोड र आव २०२२ मा १० अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको हो ।

अर्थतन्त्रमा क्रमशः सुधार आएसँगै मोटरसाइकलको व्यापार बढ्दा कम्पनीको आम्दानीमा पनि सुधार आएको हो ।

सन् २०१३ मा स्थापना भएको हुलास अटोक्राफ्टले हाल बजाजका मोटरसाइकल र तीनपाँग्रे रिक्सा उतपादन गर्दै आएको छ ।

कम्पनीको रेटिङमा पनि सुधार आएको छ । इक्रा नेपालले कम्पनीलाई एथ्री रेटिङ दिएको छ । गत वर्ष कम्पनीले एल त्रिपल बी माइनस रेटिङ पाएको छ ।

हंशराजको ९ महिनाको आम्दानी सवा ११ अर्ब

त्यस्तै, गोल्छा ग्रुप अन्तर्गतकै विभिन्न ब्राण्डमा दुईपाँग्रे सवारी साधन बेच्दै आएको हंशराज हुलाशचन्द एण्ड कम्पनीको व्यापारमा पनि उल्लेख्य सुधार आएको छ ।

कम्पनीले आव २०२५ को ९ महिनामा ११ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकि गत आव २०२४ मा कम्पनीले १० अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, आव २०२३ मा १० अर्ब ७६ करोड र आव २०२२ मा २१ अर्ब ३८ करोड रुपैयाँ व्यापार गरेका हो ।

हंशराज हुलाश चन्द कम्पनीले बजाज, केटीएम, ट्राइम्फका मोटरसाइकलका साथै सर्वो लुब्रिकेन्ट पनि बिक्री गर्दै आएको छ ।

हंशराजलाई इक्रा नेपालले एथ्री रेटिङ दिएको छ ।


Back_to_top