काठमाडौं । हुलास मोटर्सले सन् २०२० मा बजारमा ल्याउने जनाएको विद्युतीय कारको काम अगाडि बढ्न सकेको छैन । कम्पनीले २०२० मा ग्राहकलाई विक्री गर्ने लक्ष्यसहित उत्पादनमा जुटेको भएपनि ‘हुलास विद्युत’ नामक कार बजारमा आउन सकेन ।
विराटनगरमा रहेको हुलास मोटर्सको प्लान्टमा विद्युतीय कारको लागि आवश्यक काम भइरहेको भएपनि त्यहाँबाट गाडी उत्पादनको काम सुरु गर्न नसकिएको कम्पनीको भनाई छ ।
‘कोभिड १९ अगाडि स्थानीय स्तरमा परिक्षण गर्न सकिन्छ भनेर हामीले काम गरेका थियौं । तर, चीनबाट ल्याउनु पर्ने केहि पाट्र्सहरु ल्याउन सकिएन । कोभिड १९ को संक्रमण बढ्न थालेसँगै सबै काम ठप्प भए’, हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्लदासले मेरोअटोसँग भने ।
नेपालमा संक्रमण जारी रहेपनि त्रास कम भएको छ । हाम्रो बोर्डले पनि अब काम अगाडि बढाउनु पर्छ भनेको छ भन्दै दास भन्छन्, ‘अब एउटा गतिमा काम अगाडि बढाउने तयारीमा हामी जुटेका छौं । फागुनबाट उत्पादनको काम अगाडि बढाउने र आवश्यक पाट्सहरु ल्याउन तयारी थाल्ने हाम्रो योजना रहेको छ ।’
दासले २०२० मा ग्राहकमा विद्युतीय कार विक्री गर्ने सपना पुरा हुन नसकेपनि २०२१ मा ग्राहकले नेपालमा बनेको विद्युतीय कार चढ्न पाउने बताए । अहिले कम मूल्यको र मिड रेञ्जको मूल्यमा दुई भेरियन्ट ल्याउनेगरि आफुहरुले काम गरिरहेको उनको भनाई छ ।
यस्तो कार ल्याउने योजना हुलास मोटर्स
निकै सुन्दर ह्याचव्याक र चलाउन असाध्यै सजिलो हुने कारको उच्चगति क्षमता ६५ किलोमिटर प्रतिघन्टा हुने छ । यसलाई विशेषत सहरी क्षेत्रमा दैनिक कार्य गर्ने ग्राहक लक्षीत गरेर ल्याउने योजना कम्पनीको छ ।
कारमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने गरि व्याट्री निर्माण भइरहेको छ । उक्त व्याट्रीलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।
कारमा अन्य थुप्रै आधुनिक फिचर दिइने छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टम, रियर भ्यू क्यामरा र रियस सेन्सर ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम यसमा ग्राहकले पाउने छन् । यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ ।
नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स दिइने छ । पाँच जना यात्रुको लागि बस्ने सीट यसमा उपलब्ध रहने छ ।


