हाइब्रिड कारमा ६१% ले कर कम लाग्ने, यस्तो छ हिसाब-किताब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्था गर्यो । यसले हालको इन्जिनमा आउने कारको तुलनामा हाइब्रिड कार निक्कै सस्तो हुने देखिएको छ । 

आर्थिक अध्यादेशमा हाइब्रिड कार अर्थात कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसीप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुबै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । 

१ करोड भन्दा बढी मूल्य पर्ने कार ६५ देखि ७० लाख रुपैयाँमै आउने छ ।

नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजश्व ६१ प्रतिशतले कम हुने भएको छ । यो व्यवस्थाले सिमित कार आयातकर्ताहरुलाई मात्र फाइदा हुने देखिएको छ । 

अर्को महत्वपूर्ण कुरा हाइब्रिड कार खरिदकर्तालाई हुनेछ । हाइब्रिड कारले माइलेज पनि धेरै दिने र १ करोड भन्दा बढी मूल्य पर्ने कार ६५ देखि ७० लाख रुपैयाँमै आउने छ । यसअघि पनि नेपालमा हाइब्रिड कार नआएका होइनन् । विगतमा ल्याइएका हाइब्रिड कारमा एकैखालको भन्सार तथा अन्तःशुल्क लाग्थ्यो । 

अब भने सरकारले दिएको भन्सार छुट पछि हाइब्रिड कार सस्तोमा चढ्न पाइने भएको हो । सवारी साधनलाई विलाशिता र आवश्यकताको हिसाबमा गत वर्ष वर्गिकरण गरेका अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा भने हाइब्रिड कारलाई निक्कै राहत दिएका छन् । 

हामीले यहाँ रेगुलर इन्जिन र हाइब्रिड इन्जिनयुक्त कारमा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट सहितको मूल्यको तुलना गरेका छौ । यहाँ २.० लिटर इन्जिनयुक्त ‘ए’ कारलाई आधार मानिएको छ । 

२.० लिटर इन्जिनयुक्त गाडीको भन्सारमा पेश गरिएको मूल्य २५ हजार डलर छ जसको विनिमय दर १ सय १२ रुपैयाँ मा हिसाव गर्दा २८ लाख रुपैयाँ हुन्छ । उक्त गाडीले भन्सार ७७.५ प्रतिशत तिर्दा २१ लाख ७० हजार रुपैयाँ हुन्छ । भन्सार र गाडीको मूल्यमा ७० प्रतिशत (२ हजार सीसीको कारमा ७० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ) अन्तःशुल्क लाग्दा राज्यलाई ३४ लाख ७९ हजार रुपैयाँ तिर्नुपर्छ । 

गाडीको सुरु मूल्य, भन्सार र अन्तःशुल्कसहित सो गाडीको मूल्य ८४ लाख ४९ हजार रुपैयाँ हुन आउँछ । अब सो कारमा १३ प्रतिशत भ्याट बापत १० लाख ९८ हजार ३ सय ७० रुपैयाँ थपिन्छ । भ्याटपछिको गाडीको मूल्य ९५ लाख ४७ हजार ३ सय ७० रुपैयाँ पुग्छ । 

अब भ्याट सहितको मूल्यमा १० प्रतिशतले हुन आउने रकम सडम मर्मत दस्तुर बापत ९ लाख ५४ हजार ७ सय ३७ रुपैयाँ तिर्नुपर्छ । भन्सारलगायत सरकारलाई तिर्नुपर्ने सबै कर लगाउँदा गाडीको अन्तिम मूल्य १ करोड ५ लाख २० हजार १ सय ७ रुपैयाँ हुन्छ । 

उक्त मूल्यमा सवारी दर्ता शुल्क, डेमोरेज चर्जा, ब्याज, आयातलगायतका खर्चहरु जोडिएका छैनन् । बिक्री मूल्य भने उक्त सबै खर्चसमेत जोडेर कायम गरिन्छ । 

अब सोही (२.० लिटर) इन्जिनमा आउने हाइब्रिड कारमा सरकारले २०७६/७७ को बजेटमा दिएको ५० प्रतिशत भन्सार र अन्तःशुल्क छुट पछिको करको मूल्य अवस्था हेरौं । 

यसरी मूल्यमा हेर्दा हाइब्रिड कारको मूल्य आइसी इन्जिनयुक्त कारको तुलनामा ३९ लाख ८९ हजार १ सय ३७ रुपैयाँ कम मूल्यमा पाउन सकिन्छ । 

हाइब्रिड इन्जिनमा आउने २.० लिटर कारको भन्सारमा पेश गरिएको मूल्य २५ हजार डलर (२८ लाख रुपैयाँ) रहेको छ । सो कारले नयाँ भन्सार दर अनुसार मूल्यको ३९ प्रतिशत भन्सार लाग्दा १० लाख ९२ हजार रुपैयाँ तिर्नु पर्छ । भन्सार पछि सो कारको मूल्य ३८ लाख ९२ हजार पर्छ । भन्सार सहितको मूल्यमा ३५ प्रतिशत अन्तःशुल्क लाग्दा अन्तःशुल्क बापतको रकम १३ लाख ६२ हजार २ सय रुपैयाँ हुन्छ । 

मूल्यमा भन्सार र अन्तःशुल्क लाग्दा कारको मूल्य ५२ लाख ५४ हजार २०० रुपैयाँ हुन्छ । यसमा १३ प्रतिशत भ्याट लाग्दा भ्याट बापतको रमक ६ लाख ८३ हजार ४६ रुपैयाँ हुन्छ । 

भ्याट सहित गाडीको मूल्य ५९ लाख ३७ हजार २ सय ४६ रुपैयाँ हुन्छ । यसमा १० प्रतिशत सडक मर्मत दस्तुर लाग्छ । सडक दस्तुर बापत सो कारले ५ लाख ९३ हजार ७ सय २४ रुपैयाँ राज्यलाई तिर्नुपर्छ । 

सरकारलाई तिर्नुपर्ने सबै करसहित उक्त कारको मूल्य ६५ लाख ३० हजार ९ सय ७० रुपैयाँ हुन आउँछ । यसमा सवारी दर्ता शुल्क, ब्याज, डेमोरेजलगायतको खर्च जोडिएको छैन । 

निष्कर्ष

माथिको हिसाव अनुसार हाइब्रिड कारको मूल्य आइसी इन्जिनयुक्त कारको तुलनामा ३९ लाख ८९ हजार १ सय ३७ रुपैयाँ कम मूल्यमा पाउन सकिन्छ । यसरी हेर्दा कम्बस्चन इन्जिनयुक्त कार भन्दा हाइब्रिड इन्जिनयुक्त कार ६१ प्रतिशत कम मूल्यमा आउने छ । सरकारी करका कारण ६१ प्रतिशतले मूल्य घटेतापनि अन्य खर्च दुबै इन्जिन यूक्त गाडीमा उतिनै लाग्ने कारण ग्राहकले गाडी किन्दा ४० देखि ५० प्रतिशतले मूल्यमा कमि हुन आउने देखिन्छ । 


Back_to_top