काठमाडौं । विद्युतीय कारको बिक्री र चर्चा विश्वमै सबैभन्दा धेरै हुने देशमा नेपाल पर्न थालेको छ । यहाँ चीन, भारत, दक्षिण कोरिया र अमेरिकी ब्राण्ड समेतका ईभी बिक्री हुँदै आएका छन् ।
यसरी धेरै ब्राण्डको उपस्थिति र पेट्रोलियम कारको तुलनामा अत्यन्त कम कर लगाइएको कारण नेपालमा ईभीको बिक्री बढेको हो । त्यसको फाइदा आमनागरिकले पाएकै छन् । यस्तोमा हामीले नेपालमा बिक्री हुँदै आएको एक करोड हाराहारी मूल्य रहेका दुई विद्युतीय कारको विषयमा यहाँ चर्चा गर्दैछौं ।
सन् २०२२ मा नेपाल आएको हुन्डाई आयोनिक–फाइभ र केही महिना अघि मात्रै नेपाल आएको बीवाइडी सिल मोडल मूल्यका हिसाबले लगभग उस्तै छ । त्यसैले यी दुई इलेक्ट्रीक लग्जरी कारको तुलना गरौं ।
बडी डिजाइन
हुन्डाई आयोनिक–फाइभ एक क्रसओभर मोडल हो । आधुनिक र भविष्यलाई झल्काउने डिजाइनको मिश्रण रहेको यो कारले विश्वभर थुप्रै डिजाइन र पर्फमेन्स अवार्ड जितेको छ ।

चिनियाँ ब्राण्डले उत्पादन गरेको सिल एक स्पोर्टी सेडान हो । सिलकै सहायताले कुनै पनि चिनियाँ ब्राण्डको उत्पादन ‘वर्ल्ड कार अफ दी इयर २०२४’को सूचीमा टप थ्री भित्र पर्न सफल भएको थियो ।
ब्याट्री र मोटर पावर
हुन्डाईले आयोनीक-५ मा ५८ किलोवाट आवरको ब्याट्री दिएको छ । साथमा रहेको १२५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरले उत्कृष्ट पर्फमेन्स गर्छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३७५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

बीवाइडी सिलमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री छ । यसमा १५० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । बीवाइडी सिलको डाइनामिक भेरियन्टले सिंगल चार्जमा ४६० किलोमिटरको रेन्ज दिने डब्ल्यूएलटीपीले प्रमाणित गरेकोे छ ।
पर्फमेन्स
यो कार मात्र ७.३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर सम्मको स्पीडमा गुड्न सक्छ । यो कारको अधिकतम गति १८५ किलोमिटरको रहेको छ ।
स्पीडको मामलामा सिल पनी लगभग उस्तै छ । बीवाइडी सिलले ७.५ सेकन्डमा शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउने छ । यसको टप स्पीड क्षमता १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
साइज
आयोनिक-फाइभको लम्बाइ ४६३५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १६०५ एमएम छ । यसमा ३००० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा १६० एमएमको ग्राउण्ड क्लियरेन्स रहेकोे छ । यसमा ह्वील भने १९ इन्चको छ ।

बीवाइडी सिलको लम्बाइ ४८०० एमएम, चौडाइ १८७५ एमएम र उचाइ १४६० एमएम छ । यसमा २९२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा १८ इन्चको ह्वील छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ ।
अन्य फिचर
दुवै कारको चार वटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । सुरक्षाको लागि दुवै कारमा आधुनिक फिचर र प्रविधि दिइएको छ । ३६० डिग्री क्यामरा, एयरब्याग, एबीएस, ईबीडी तथा बीएएस ब्रेकिङ सिस्टम, टीपीएमएस सिस्टम, अटो होल्ड, पार्किङ डिस्ट्यान्स वार्निङ जस्ता फिचर दुवैमा रहेको छ ।
बीवाइडी सिलको क्याबिन फिचरमा सिल्भर प्लेटेड प्यानारोमिक ग्लास रुफ, लेदर र्याप स्टेरिङ ह्वील, १०.२५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको रोटरिङ टचस्क्रीन, ८ वे पावर ड्राइभर सिट, एप्पल कार प्ले, एन्ड्रोइड अटो, किलेस इन्ट्री, एनएफसी कार्ड, वायरलेस फोन चार्जर पाउन सकिन्छ ।

हुन्डाई आयोनिक-फाइभमा भिजन रुफ, रेन सेन्सिङ वाइपर, पिक्सेल डिजाइनको एलईडी हेडल्याम्प, १२.३ इन्चको दुईवटा स्क्रीन, एप्पल कारप्ले तथा एण्ड्रोइड अटो, अटोमेटिक एसी, वायरलेस चार्जर पाउन सकिन्छ ।
मूल्य
हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक-फाइभ ईभीको मूल्य १ करोड २ लाख ९६ हजार तोकेको छ ।
बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले सिलको डाइनामिक भेरियन्ट १ करोड ५ लाख मूल्य राखेर बिक्री गर्दै आएको छ ।

