काठमाडौं । हुन्डाईले आफ्नो पहिलो माइक्रो एसयूभी आगामी सेप्टेम्बरबाट उत्पादन सुरु गर्ने रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले विभिन्न चरणमा गरेको परिक्षणमा सफल भएसँगै आगामी सेप्टेम्बरबाट यसको उत्पादन सुरु गर्न लागेको कोरियाली मिडियाले उल्लेख गरेका छन् ।
हुन्डाईले आफ्नो सानो एसयूभीलाई ग्वाङ्जु ग्लोवल मोटर्सको प्लान्टमा उत्पादन सुरु गर्न लागेको हो । ग्वाङ्जु र हुन्डाईको संयुक्त लगानीमा तयार भएको उक्त प्लान्टमा यसको उत्पादन हुने भएको हो ।
वार्षिक ७० हजार यूनिट कार उत्पादन क्षमताको नयाँ प्लान्टमा हुन्डाईले ‘एएक्स वान’ कोण नेममा यसको उत्पादन सुरु गर्ने छ । बजारमा सार्वजनिक गर्ने समयमा मात्रै यसको नाम राखिने रिपोर्टमा उल्लेख छ ।
हुन्डाई मोटर्सले यसमा रहने फिचरको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । यद्यपी यो नयाँ माइक्रो एसयूभी ‘के वान’ प्ल्याटफर्ममा उत्पादन हुने मिडियाले दावी गरेका छन् । यहि प्ल्याटफर्ममा सेन्ट्रो र ग्राण्ड आई १० उत्पादन भइरहेका छन् ।
बक्सी डिजाइन, राउन्ड हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, मल्टी एलइडी डिजाइनको टेल लाइट, रिभाइज पार्किङ लाइट जस्ता फिचर यसमा पाउन सकिन्छ ।
यसमा तीन किसिमको इन्जिन रहने अनुमान गरिएको छ । जसमा १.० लिटर टर्बो, १.१ लिटर नेचुरल एस्पार्ड र १.२ लिटर नेचुरल एस्पार्ड रहने छन् । टर्बो इन्जिनले १२० पीएस, १.१ लिटर इन्जिनले ६९ पीएस र १.२ लिटरले ८३ पीएस पावर प्रदान गर्ने छ ।
यसमा हुन्डाईको इन्टेलिजेन्ट म्यानुयल, म्यानुयल र अटोमोटिक गियरबक्स अप्सन उपलब्ध रहने छ । टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, किलेस इन्ट्री, पुस बटम स्टार्ट÷स्टप, वायरलेस चार्जर, कुल्ड बक्स जस्ता फिचर उपलब्ध रहने छन् ।
हुन्डाईको यो माइक्रो एसयूभी नेपाली बजारमा पनि उपलब्ध हुने छ । सन् २०२२ सम्ममा नेपाल आउने अपेक्षा गर्न सकिन्छ । यसको मूल्य भने भेन्यूभन्दा कम रहने अनुमान गर्न सकिन्छ ।


