अब हुन्डाईले पनि आफैं ब्याट्री बनाउने

काठमाडौं । विश्व बजारमा न्यू इनर्जी भेहिकलको माग बढ्दै गएपछि हाइ भोल्टेज ब्याट्री उत्पादनले ठूलो महत्व राख्न थालेको छ ।

ब्याट्रीले ईभी उत्पादनको लागत समेत घटाउने भएकाले पछिल्लो समय ईभी उत्पादहकरू धमाधम आफैं ब्याट्री उत्पादन गर्न थालेका हुन् ।

हाल टेस्ला, बीवाइडी, जीली मोटर्स लगायतले आफैं ब्याट्री उत्पादन गर्दै आएका छन् । चिनियाँ कम्पनीहरू बीवाइडी, जिकर, हुवावेले मेगावाट स्तरको अत्याधुनिक हाइभोल्टेज चार्जिङ प्ल्याटफर्म समेत स्थापना गरिसकेका छन् ।

यसैबीच, कोरियन अटोमोबाइल ग्रुप हुन्डाई मोटर्स पनि ईभीका लागि ब्याट्री उत्पादनमा जुटेको छ । ईभीको ब्याट्रीसेल उत्पादनमा चिनियाँ ब्याट्री उत्पादकहरू हाबी भइरहेको बेला हुन्डाईले पनि आफूलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेको हो ।

हुन्डाई मोटर ग्रुपले ब्याट्र उत्पादनका लागि डेडिकेटेड टिम बनाएर काम सुरू गरेको हो । दक्षिण कोरियन संचारमाध्यम दी चोसुन डेलिका अनुसार हुन्डाईले इन हाउस ब्याट्री प्रडक्सन डिभिजन स्थापना गरिसकेको छ ।

हुन्डाई मोटर्स ग्रुपमा यसअघि नै इनहाउस ब्याट्री टिम रहेको छ । यो टिमले कोरियन ब्याट्री उत्पादकहरू एलजी इनर्जी सोलुसन र एसके अनका ब्याट्रीहरू हुन्डाई, किया, जेनेसिस जस्ता ब्राण्डका ईभीहरूका लागि सहजकर्ताको भूमिका मात्र रहेको छ ।

ईभी उत्पादक कम्पनी आफैंले ब्याट्री उत्पादन गर्दा धेरै फाइदा हुन्छ । यसले अटोमेकरहरूलाई कारको सफ्टवेर र अर्किटेक्चर अनुसार ब्याट्री अप्टिमाइज गर्न सहज बनाउँछ । त्यस्तै, उत्पादनको स्केल बढ्दै जाँदा लागत कटौतीमा पनि ठूलो सहयोग पुर्याउँछ ।


Back_to_top