काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आफ्नो नयाँ एसयूभी सार्वजनिक गर्ने मिति नजिक आएको जनाउ दिएको छ । कम्पनीले एकपछि अर्को सूचना बाहिर ल्याउने क्रममा नयाँ माइक्रो एसयूभीको नाम ‘एक्सटर’ रहने संकेत गरेको हो ।
कोरियन कार निर्माताले भारतमा आफ्नो उत्पादन क्षमता विस्तार गर्ने क्रममा नयाँ प्लान्ट र नयाँ नयाँ मोडलको तयारी गरिरहेको समयमा आउन लागेको ‘एक्सटर’ मोडलले बजारमा उपलब्ध टाटा पन्च मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
एक वर्षअघि हुन्डाईले दक्षिण कोरियामा विक्री सुरु गरेको क्यास्परमा आधारित रहने भनिएको एक्सटर ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा बन्नेछ । आफ्नो चर्चित कप्पा इन्जिन रहने एक्सटरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिन रहने छ । साथै, कम्पनीले यसलाई १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनमा पनि उपलब्ध गराउने छ ।
यसमा रहने १.२ लिटर इन्जिन यसअघि ग्राण्ड ८३ ब्रेकहर्स पावर र ११३ एनएम पीक टर्क उत्पादन गर्छ । यसलाई ५ स्पीड म्यानुअल र ५ स्पीड अटोमेटीक म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ ।
त्यसैगरी, यसको १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनले १२० बीएचपी पावर र १७८ एनएम पीक टर्क प्रदान गर्छ । यसलाई ६ स्पीड अटोमेटीक र ७ स्पीड डीसीटी गियरबक्स छनोटमा पाउन सकिने छ ।
चाडपर्वको समयमा बजारमा आउने अनुमान गरिएपनि हुन्डाईले सार्वजनिक गरेको तथ्यलाई हेर्दा जुन महिना भित्रै बजारमा आउन सक्ने अनुमान धेरैले गरेका छन् ।

