काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित कार आई-२० मा दिएको डिजेल इन्जिनको उत्पादन बन्द गरेको छ । कम्पनीले भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड (बीएस ६ फेज २) अनुसारको डिजेल इन्जिन बन्द गरेको हो ।
कोरियाली कार निर्माताले आई २०को डिजेल इन्जिन मोडललाई आफ्नो वेभसाइटबाट हटाएको हो । अब कम्पनीले पेट्रोल इन्जिनलाई अपग्रेड गरेर बजारमा ल्याउने तयारी गरिरहेको छ ।
हुन्डाईले यसअघि १.५ लिटर फोर सिलिन्डर डिजेल इन्जिनमा विक्री गर्दै आएको हुन्डाई आई-२० अब पेट्रोल भर्सनमा मात्र उपलब्ध हुनेछ । कम्पनीले नयाँ आई-२० लाई १.२ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा उपलब्ध गराउने छ ।
हुन्डाई आई-२० मा रहेको १.२ लिटर क्षमताको इन्जिनले ८२ बीएचपी र ११५ एनएम टर्क प्रदान गर्छ । त्यस्तै १.० टर्बो इन्जिनले ११८ हर्स पावर र १७२ एनएम पीक टर्क प्रदान गर्छ । रेगुलर इन्जिनमा फाइभ स्पीड म्यानुअल र सिभिटी गियरबक्स रहने छ भने टर्बो इन्जिनमा ७ स्पीड डिसिटी गियरबक्स रहने छ ।
हुन्डाईले आई-२० मा एलइडी प्रोजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड कट अलोय ह्वील पाउन सकिन्छ । यसमा बीएमडब्लूको जस्तै सिल्क लुकिङ ग्लास रहेको छ ।
सनरुफ, बोसको स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्याक फिनिसिङ इन्टेरियर, नयाँ एसी भेन्ट, क्रेटामा प्रयोग भएको स्टेरिङ ह्वील, वायरलेस चार्जर, ग्लोवबक्स, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, हुन्डाईको ब्लु लिंक कनेक्टेड कार फिचर यसको बलियो पक्ष हो ।
नेपालमा हुन्डाई आई-२०
नेपालमा हुन्डाई आई-२० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारिक रुपमा बिक्री गर्दै आएको छ । कम्पनीले विगतदेखिनै नेपाली बजारमा १.२ लिटर पेट्रोल इन्जिनमा मात्रै आई-२० उपलब्ध गराउँदै आएको छ ।

