देखियो हुन्डाईको नयाँ इलेक्ट्रीक एसयूभी, १५ मिनेटमा ८०% चार्ज हुने

काठमाडौं । हुन्डाईले एक वर्षअघि आफुले बनाउने सबै इलेक्ट्रीक कार तथा एसयूभीलाई आयोनिक ब्राण्ड नेममा ल्याउने घोषणा गरेको थियो । कम्पनीको घोषणा अनुसार पहिलो एसयूभी ‘आयोनिक-५’ बजारमा ल्याउने तयारी सुरु भएको हो ।

हुन्डाई अष्ट्रेलियाले आउँदै गरेको नयाँ इलेक्ट्रीक एसयूभी ‘आयोनिक-५’को बुकिङ सुरु गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । ‘दि कोरियन कार व्लग’का अनुसार कोरियन निर्माता हुन्डाईले सुरुवातमा ‘आयोनिक-५’को १५० यूनिट मात्र बनाउने जनाएको छ ।

नयाँ एसयूभीमा ५८ किलोवाट आवरको व्याट्री दिइने छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर रेञ्ज प्रदान गर्ने छ । यसले सून्यदेखि १०० किलोमिटरको रफ्तार भेट्टाउन केवल ५.२ सेकेन्ड मात्रै लगाउने दाबी गरिएको छ ।

हुन्डाईले यसलाई आफ्नो पछिल्लो इभी प्ल्याटफर्म ‘हुन्डाई इ-जिएमपी’ मा तयार गरिरहेको छ । यसमा रहेको व्याट्रीलाई ८०० भोल्टको अल्ट्रा फास्ट चार्जरबाट चार्जगर्दा २० देखि ८० प्रतिशत केवल १५ मिनेटमा हुने हुन्डाईको दाबी छ । साथै नयाँ आयोनिक-५को छतमा सोनाटा हाइब्रिडको जस्तै सोलार प्यानलसमेत जडान हुने छ ।

रिपोर्टहरुको मुताविक कम्पनीले यसलाई ७३ किलोवाट आवरको व्याट्री रेञ्जमा पनि ल्याउने छ । यसले एक पटकको फुल चार्जमा ५५० किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

आयोनिक-५ मा अगाडि र पछाडि दुई वटा मोटर दिइने छ । अल ह्वील ड्राइभ अप्सनमा आउने नयाँ एसयूभीमा दिइएको संयुक्त मोटरले ३१३ पीएस पावर प्रदान गर्ने छ ।

नयाँ आयोनिकको लम्बाई ४६४० एमएम, चौडाई १८९० एमएम र उचाई १६०० एमएम हुने छ । यसमा ३००० एमएमको ह्वीलवेस दिइने छ ।


Back_to_top