इलेक्ट्रीकमा पहिलो फुलसाइज एसयूभी नेपाल ल्याउँदै हुन्डाई

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनिक-९ नेपाल ल्याउने भएको छ ।

कम्पनीले छिट्टै बजारमा आउँदै भनेर यसको ‘मार्केटिङ’ गतिविधि सुरू गरेको हो । अन्तर्राष्ट्रिय बजारमा ‘नयाँ आश्चर्य’ मानिएको आयोनिक-९ कुन साइजको मोटर र ब्याट्रीमा नेपालमा बिक्री सुरू गर्न लागेको हो भन्ने जानकारी दिएको छैन ।

अहिले अमेरिकी, युरोपियन र केही एशियाली देशमा बिक्री हुँदै आएको आयोनिक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री छ । ठूलो एसयूभी भए पनि ठूलै ब्याट्री भएको कारण यसको डब्लूएलटीपी रेन्ज नै ६२० किलोमिटर हुनेछ ।

दक्षिण कोरियाली कार निर्माताले हुन्डाईको ईजीएमपी आर्किटेक्चरमा आधारित रहेर आयोनिक-९ लाई ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको हो । त्यसैले यसलाई ३५० किलोवाट क्षमताको डीसी चार्जरले चार्ज गर्दा १० देखि ८० प्रतिशत पुग्न केबल २४ मिनेट लाग्छ ।

कम्पनीले आयोनिक-९ लाई रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध गराएको छ । यसको रियर ह्वील ड्राइभ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रीक मोटर छ । जबकी अल ह्वील ड्राइभ भेरियन्टको संयुक्त पावर ३२० किलोवाट रहेको छ ।

आयोनिक ९ को कुल तौल २ हजार ५०० केजी छ । अगाडि र पछाडि नै ५०ः५० प्रतिशत तौल बाँडिएको कम्पनीले जनाएको छ । त्यसैले यसलाई जस्तोसुकै बाटोमा पनि सहजै चलाउन सकिने उत्पादकले दाबी गरेको छ ।


निकै लग्जरी फिचरले भरिपूर्ण आयोनिक-९ मा १८९९ एमएम अग्लो हेडरुम र २०५० एमएम लामो लेगरुम पाउन सकिन्छ । एड्जस्ट गर्न मिल्ने सेन्टर कन्सोल प्रयोग भएको एसयूभी ७ सिट क्षमताको हो ।

प्रिमियम ह्यासबोर्ड, लेदर सिट, ६२० लिटरको बुट स्पेश, पानारोमिक शनरुफ, १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १२ इन्चकै इन्स्ट्रुमेन्ट क्लष्टर आयोनिक-९ मा पाउन सकिन्छ । एम्बियन्ट लाइट, छतमा दिइएको एसी भेन्ट, १०० वाटको टाइप सी पोर्ट, बोसको ८ मुख्य स्पीकर र १४ वटा अप्सनल स्पीकरले एसयूभीलाई थ्रियटरमा परिणत गर्छ ।

सुरक्षाको लागि यसमा १० वटा एयरब्याग, एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) लगायतका फिचर छन् । यसको लम्बाइ ५०६० एमएम, चौडाइ १९८० एमएम र उचाइ १७९० एमएम छ । यसमा ३१३० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

हुन्डाईले आयोनिक-९मा १९, २० र २१ इन्चको फरक फरक ह्वील साइज अफर गरेको छ । नेपाल आउने मोडलमा कुन साइजको ह्वील रहन्छ एकिन जानकारी प्राप्त भएको छैन ।

हुन्डाई मोटर्स ग्रुपको किया ईभी नाइन पनि आयोनिक-९ मै आधारित मोडल हो । त्यसैले मूल्यको हिसाबले १ करोड ९० लाखभन्दा कमै आउने अनुमान भने गर्न सकिन्छ ।


Back_to_top