काठमाडौं । हुन्डाई मोटर कर्पोरेशनले एक उच्च तहको ‘फ्याक्ट फाइन्डिङ’ टिम भारतमा पठाएको छ ।
हुन्डाईले भारतीय बजारमा घट्दो मार्केट शेयर र बढ्दो प्रतिस्पर्धाको यर्थाथ अवस्था पत्ता लगाउन गत महिना उच्च तहको अध्ययन टोली भारत पठाएको हो ।
इकोनोमिक टाइम्सका अनुसार हुन्डाई ग्लोबल हेडक्वाटरबाट सेल्स, मार्केटिङ, फाइनान्स र प्रडक्ट डेभलपमेन्ट युनिटका ६ जना अधिकारीहरू भारत भ्रमणमा आएका थिए । भारतमा १ हप्तासम्म बसेको यो टोलीले डिलर, कस्टुमर, सप्लायर, एनालिस्ट र फाइनान्सरसँग भेटवार्ता गरेको थियो ।
भारत हुन्डाईको विश्व बजारमा तेस्रो ठूलो बजार हो । हुन्डाई मोटर्स इण्डियाको गत आर्थिक वर्षमा नाफा समेत ७ प्रतिशतले घटेको थियो । अघिल्लो आवमा ६ हजार ६० करोड नाफा रहेकोमा कम्पनीको गत वर्ष ५ हजार ६४० करोड भारतीय रुपैयाँमा सीमित भएको छ ।
हुन्डाई मोटर्स इण्डियाको गत आर्थिक वर्ष २०२५ को बजार हिस्सा १४ प्रतिशतमा झरेको थियो । यो हिस्सा सन् २०१३ पछिको सबैभन्दा कम भएको बताइएको छ । त्यस्तै, सन् २०२५ मा हुन्डाईको भारतमा सुरक्षित रहेको मारुती सुजुकी पछिको दोस्रो स्थान पनि डगमगाएको छ । हुन्डाईलाई भारतीय स्थानीय उत्पादनहरू महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्सले कडा टक्कर दिइरहेका छन् ।
हुन्डाईको भारतीय बजारमा सबैभन्दा उत्कृष्ट पर्फर्मेन्स कम्प्याक्ट मिडसाइज एसयूभी क्रेटाको रहेको छ । क्रेटाको मिडसाइज सेग्मेन्टमा ३० प्रतिशतको बजार हिस्सा रहेको छ । गत आवमा भारतको स्थानीय बजारमा ५ लाख ९९ हजार युनिट क्रेटा बिक्री भएको थियो । कम्पनीले गत वर्ष अन्तर्राष्ट्रिय बजारमा समेत १ लाख ६३ हजार युनिट क्रेटा निर्यात गरेको थियो ।
यस बाहेक पछिल्लो समय लन्च भएको एक्सटर र क्रेटा ईभी भारतीय बजारमा सोचे जस्तो बिक्री हुन सकेको छैन । हुन्डाई इण्डियाले गत आवमा क्रेटा ईभी र आयोनिक ५ गरी जम्मा ३९६९ युनिट ईभी बिक्री गरेको थियो । कम्पनीले यस वर्ष ल्याउने नेक्स्ट जेनेरेशन भेन्यू लगायत अन्य फेसलिफ्ट मोडलहरूले राम्रो पर्फमेन्स गर्ने अनुमान गरिएको छ ।
हुन्डाईले आगामी आव २०३० सम्ममा फेसलिफ्ट सहित २६ मोडल लन्च गर्ने महत्वाकांक्षी योजना बनाएको छ । जसमा २० आइस, ६ वटा ईभी र केही हाइब्रिड मोडल रहेका छन् ।