अक्टोबर ९ मा मिडियालाई देखाउने तयारी भएको हुन्डाई सेन्ट्रो (एएच२) अक्टोवर २३मा भारतीय बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले अक्टोवर १० तारिखबाट यसको प्रि बुकिङ खुल्ला गर्ने जनाएको छ ।
कारटर्क रिपोर्टको अनुसार हुन्डाईको यो नयाँ इन्ट्रीलेवल मोडल ५ भेरिएन्टमा बजारमा आउने छ । जसमा इरा, म्याग्ना, स्पोर्टेज, स्पोर्टेज (ओ) र अास्टा रहने छन् । उक्त रिपोर्टका अनुसार यसको सुरुवाति मूल्य ३ लाख ५० हजार भारतीय रुपैयाँ रहने छ ।
सबै भेरिएन्टमा सुरक्षालाई विशेष प्राथमिकतामा राखेर एबीएस, इबीडी, अगाडि दुईवटा एयरब्यागजस्ता फिचर दिइएको छ भने, मगनाभन्दा माथिका सबै भेरिएन्टमा स्टेरिङ माउन्ट अडियो कन्ट्रोल सिस्टम दिइएको छ । यसमा दिइएको सेग्मेन्ट फस्ट फिचरमा रियर एसी भेन्ट, ५ इन्च टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, जसले एन्ड्रोइड अटो र एप्पलकार प्ले सपोर्ट गर्ने छ । स्पोर्टेजको (ओ) र अस्ता भेरिएन्टमा अलोय ह्वीलसमेत दिइएको छ ।
१.१ लिटर इप्स्लोन पेट्रोल इन्जिन दिइएको यो इन्जिन भारतीय इमिसन नम्स ‘बिएस–६’मा आधारित रहेको बताइएको छ । यसले २० किलोमिटर प्रतिलिटर ममाइलेज दिने अनुमान गरिएको छ । ५ स्पीड म्यानुयल र अटोमेटिक गियर अप्सनमा आउने यसलाई कम्पनीले सिएनजी किटको साथ ल्याउने तयारी गरेको छ ।
नेपाली बजारमा पनि यसको प्रि–बुकिङ दशैं र तिहारको बीचबाट खुल्ने छ भने यसको आधिकारीक लञ्च भने तिहार लगत्तै हुने अनुमान गरिएको छ । हुन्डाई मोर्टसको लागि नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल्स स्रोतका अनुसार नोभेम्बरमा नेपाली बजारमा नयाँ सेन्ट्रो आउने छ ।

