काठमाडौं । हुन्डाईले उत्पादन गरेको ११ सिट क्षमताको एमपीभी स्टारिया पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ । कोरियाली निर्माताले पहिलो पटक कोरियाभन्दा बाहिर स्टारिया सार्वजनिक गरेको हो ।
थाइल्याण्डमा सार्वजनिक भएको स्टारिया निकै आधुनिक डिजाइनबाट प्रेरित रहेको तस्विरमा देख्न सकिन्छ । स्टारियाको अगाडिको भाग निकै फरक किसिमको देख्न सकिन्छ । मोडन डिजाइनमा तयार भएको यस एमपीभीमा स्लीक एलइडी बारको भरपुर प्रयोग गरेको देख्न सकिन्छ ।

साइडमा धेरै सिसाले छोपिएको भाग यस एमपीभीको अर्को विशेषता हो । पछाडिको भागमा पनि निकै ठूलो सिसाको प्रयोग गरिएको छ । यसको इन्टेरियर पनि उत्कृष्ट रहेको छ । प्रिमियम मेटेरियलको ड्यासबोर्ड, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पुस बटम स्टार्ट, ७ वटा यूएसबी पोर्ट, इलेक्ट्रीक आईआरभीएम, एम्बीयन्ट लाइट, घाम भित्र पस्न नसक्ने झ्याल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, दोस्रो लाइनमा लाउन्ज चियर, अटोमेटिक ढोका जस्ता थुप्रै फिचर पाउन सकिन्छ ।
सुरक्षाको हिसावले पनि स्टेरिया उत्कृष्ट रहेको छ । हुन्डाईको स्मार्ट सेन्स स्बीट यसमा प्रयोग गरिएको छ । जसमा एडप्टीभ क्रुज कन्ट्रोल, व्लाइन्ड स्पोट मोनिटरिङ, पछाडिको क्रस ट्राफिक अर्लट, अटोनोमस ब्रेकिङ, बाटोमा आइरहेको भेहिकल पत्ता लगाउने प्रविधि पाउन सकिन्छ ।

हुन्डाईले स्टारियामा २.२ लिटर फोर सिलिण्डर टर्बो चार्ज्ड डिजेल इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र ४३१ एनएम टर्क प्रदान गर्नेछ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स पाउन सकिन्छ ।


