फरक ब्राण्ड तर एउटै मूल्य र फिचर, कुन किन्दा बढी फाइदा

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाले नेपाली बजारमा विक्री गर्दै आएको सब फोर मिटर एसयूभीमा कडा टक्कर चलिरहेको छ । दुबै कार निर्माताको माउ कम्पनी एउटै भएकाले पनि यी दुई कम्पनी बीचको प्रतिस्पर्धालाई रोचकरुपमा लिने गरिएको छ ।

हुन्डाई मोटर्स ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र किया ब्राण्ड बीचको रोचक प्रतिस्पर्धा नेपालमा भने सन् २०१९ बाट सुरु भएको हो । कियाले भारतमा गाडी उत्पादन सुरुगरेसँगै यी दुई बीच नेपालमा प्रतिस्पर्धा सुरु भएको हो ।

एउटै प्लेटफर्ममा उत्पादन भएका हुन्डाई भेन्यू र किया सोनेट अहिले नेपालमा लगभग एउटै मूल्यमा विक्री हुँदै आएको छ । यी दुबै गाडीको इन्ट्री भेरियन्टमा समान इन्जिन र अधिकांश फिचर उस्तै रहेका छन् ।

यी दुई गाडीको सबैभन्दा ठूलो फरक भनेको डिजाइन हो । अगाडि र पछाडिको डिजाइन दुबैमा निकै ठूलो फरक पाउन सकिन्छ भने समान लम्वाई भएपनि चौडाई र उचाईमा किया साेनेट केही ठूलो रहेको छ ।

हुन्डाईले भेन्यूलाई कन्जर्भेटीभ डिजाइनमा बनाएको छ । तर, पनि भेन्यूमा थुप्रै आकर्षण ल्याउने फिचर दिइएको छ । कियाले सोनेटलाई एग्रेसीभ लुक्स दिएको छ । रुफरेल, स्कीड प्लेट, बडी क्याडलिङ तथा समान १५ र १६ इन्चको ह्वील यी दुबै गाडीमा पाउन सकिन्छ ।

यहाँ हामीले यी दुबै कारको इन्ट्री भेरियन्टलाई तुलनात्मक विष्लेषण गर्ने जमर्को गरेका छौं ।

इन्जिन

दुबै गाडीमा एउटै १.२ लिटर क्षमताको इन्जिन उपलब्ध रहेको छ । ११९७ सीसी, फोर सिलिण्डर, ४ भल्भ डिओएचसी इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर र ४००० आरपीएममा ११४ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको दुबै गाडीमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । दुबै गाडी बीएस ६ इन्जिनमा उपलब्ध रहेको छ ।

साइज

दुबै गाडीको लम्बाई समान ३९९५ एमएम रहेको छ । चौडाईमा भेन्यूको तुलनमा सोनेट २० एमएमले ठूलाे रहेको छ । भेन्यूको चौडाई १७७० एमएम रहेको छ भने सोनेटको १७९० एमएम रहेको छ ।

उचाईमा पनि सोनेट २० एमएम बढी अग्लो छ । यसको उचाई १६१० एमएम छ भने भेन्यूको १५९० एमएम रहेको छ । दुबैमा समान २५०० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

५ जनाले आरामदायी यात्रा गर्न सक्ने यी दुबै गाडीमा समान ४५ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ । बुट स्पेशमा किया सोनेट केही लिटरले अगाडि रहेको छ । सोनेटमा ३९२ लिटर र भेन्यूमा ३५० लिटरको बुट स्पेश पाउन सकिन्छ ।

सस्पेन्सन

दुबै गाडीमा एउटै सस्पेन्सन पाउन सकिन्छ । अगाडि म्याकफर्सन स्ट्रुटको साथ क्वील स्प्रीङ र पछाडि कप्पल्ड टोर्सन बीमको साथ क्वील स्प्रीङ पाउन सकिन्छ । दुबै गाडीको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।

पावर स्टेरिङ, समान ५.१ मिटर टर्निङ रेडिएस, स्टील रिम, स्टील ह्वील दुबैमा दिइएको छ ।

सुरक्षा फिचर

ग्लोवल एनक्याप क्रयास टेष्टमा दुबै गाडी अहिलेसम्म परिक्षण भएको छैन । तर, अष्ट्रियन एनक्यापमा भने भेन्यूले ४ स्टार रेटिङ पाएको थियो । तर, त्यो भारतीय स्पेक भने होइन ।

दुबै कारमा अगाडि एयरव्याग दिइएको छ । ८० किलोमिटरको स्पीडमा अर्लट बीप र १२० किलोमिटरको स्पीडमा निरन्तर बीप दिइएको छ । यसले चालकलाई सचेत गराउने छ ।

भेन्यूमा चाइल्ड सिट एङ्कर प्वइन्ट दिइएको छ भने सोनेटमा छैन । दुबैमा सिटवेल्ट वार्निङ पाउन सकिन्छ । एबीएस, इबीडी दुबै गाडीमा छ भने ब्रेक एसिस्ट भेन्यूमा पाउन सकिन्छ ।

इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, स्पीड सेन्सीङ डोर लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर दुबै गाडीमा उपलब्ध रहेको छ ।

आरमदायी फिचर

म्यानुयल एसी, हिटर, रियर पार्किङ सेन्सर, हेडलाइट र इग्नीसन अन रिमाइन्डर, स्टेरिङ एड्जस्टमेन्ट जस्ता फिचर दुबै कारमा छन् भने अगाडि आर्मरेष्ट किया सोनेटमा मात्रै उपलब्ध रहेको छ ।

दुबै गाडीको ड्राइभर र अगाडि प्यासेन्जर सिट ६ वे एड्जस्ट गर्न मिल्ने किसिमको छ । फेब्रिक सिट, प्यासेन्जर बेञ्च सिट, कालो कलरमा सिंगल टोन इन्टेरियर, कप होल्डर, अगाडि पावर विन्डो, जस्ता फिचर यसमा समावेस भएको छ ।

लाइट र इन्ट्रुमेन्ट क्लष्टर

भेन्यू र सोनेट दुबै गाडीमा हेलोजिन हेडल्याम्प र टेल ल्याम्प पाउन सकिन्छ । यी दुबै गाडीमा फरक डिजाइनको हेडल्याम्प र टेलल्याम्प हाउजिङ प्रयोग गरिएको छ । क्याविनमा भेन्यूको सेन्टरमा एउटा लाइट पाउन सकिन्छ भने सोनेटमा अगाडि र पछाडि फरक लाइट पाउन सकिन्छ ।

हुन्डाईले एनालग क्लष्टर दिएको छ भने सोनेटमा एनालग र डिजिटलको मिश्रण गरेको छ ।

नेपालमा नेटवर्क र पार्टसकाे उपलब्धता

नेपाली बजारमा सन् २००५ देखिनै ठूलो संख्यामा गाडी विक्री गर्दै आएको ब्राण्ड हुन्डाई हो । देशभर करिब १५ शोरुम र १८ सर्भिस सेन्टरबाट कम्पनीले सेवा दिदै आएको छ भने कियाको १२ सेल्स, सर्भिस नेटवर्क रहेको छ ।

भारतीय उत्पादन नेपाल आएसँगै किया आक्रमक बजार विस्तारको रणनीतिमा छ भने विगत वर्षदेखि नै हुन्डाईले आफुलाई नेपालमा सर्वाधिक प्यासेन्जर गाडी विक्री गर्ने कम्पनीको रुपमा पहिलो स्थानमा उभ्याएको छ ।

मूल्य

भारतीय बजारमा जस्तै नेपालमा पनि हुन्डाई भेन्यूको अधिकतम खुद्रा मूल्य केही बढी रहेको छ । भेन्यूको ३६ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले १ लाख रुपैयाँ छुट दिएर ३५ लाख ९६ हजारमा विक्री गर्दै आएको छ ।

कियाले सोनेटको मूल्य ३५ लाख ९० हजार निर्धारण गरेको छ । कम्पनीले यसमा छुट दिने छैन । कियाले आफ्ना सबै गाडी ‘नो डिस्काउन्ट पोलिसी’मा विक्री गर्दै आएको छ ।

निस्कर्ष

दुबै गाडी एउटै माउ कम्पनीले निर्माण गरेको भएपनि नेपाली बजारमा हुन्डाईको ब्राण्ड नेम निकै ठूलो रहेको छ । उसले ब्राण्ड निर्माणमा गरेको लगानीकै कारण हुन्डाई भेन्यूमा धेरै लोयल हुनसक्छन् । तर, किया सोनेट आकर्षक डिजाइनको कारण परिचित रहेको छ ।

अहिलेको विक्री हेर्दा हुन्डाई पेट्रोल इन्जिन र किया डिजेल इन्जिनमा केन्द्रित भएको देखिन्छ । हुन्डाइले डिजेल इन्जिनको तुलनामा पेट्रोल इन्जिनमा धेरै भेरियन्ट विक्री गर्दै आएको छ । त्यसको ठिक उल्टो सोनेट इन्ट्री भेरियन्ट मात्रै पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।

ग्राहकले भेन्यू र सोनेट मध्य छनोट गर्दा आफुलाई मन पर्ने डिजाइन नै मुख्य कारण हुने हामीले देखेका छौं ।

 


Back_to_top