काठमाडौं । हुन्डाईको सफल मिडसाइज एसयूभी टुसानको नयाँ जेनेरेशन मोडल नेपाल आएको छ । कम्पनीले नेपाल ल्याएको पहिलो लटको सम्पूर्ण यूनिट सोल्ड आउट भएको बताइएको छ ।
कम्पनीले आधिकारीकरुपमा टुसानमा उपलब्ध फिचरको विषयमा जानकारी नदिए पनि नयाँ मोडलको मूल्य भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल ल्याएको टुसान यसअघि विक्री हुँदै आएको मोडलको तुलनामा विल्कुलै फरक डिजाइनमा देख्न सकिन्छ । नयाँ जेनेरेशन टुसान आधुनिक फिचरहरुले शुसज्जीत रहेको देखिन्छ । यसको आधिकारीक विक्री १० दिनपछि सुरु गर्ने कम्पनी स्रोतले जनाएको छ ।
यसमा प्रयोग गरिएको प्यारामेट्रीक ग्रिल तथा हाफ मिरर टाइपको युनिक एलइडी डिआरएल लाइट अहिले विश्वभर अटोप्रेमीको बीचमा चर्चा भइरहेको छ । कम्पनीले सार्वजनिक गरेको मूल्यसूची अनुसार टुसान विभिन्न ४ भेरियन्टमा उपलब्ध हुनेछ ।

हुन्डाईले नयाँ टुसानमा २.० लिटरको पेट्रोल र २.० लिटरको डिजल इन्जिन अप्सनमा ल्याउने छ । तीन भेरियन्ट पेट्रोल इन्जिनमा हुनेछन् भने टप भेरियन्ट डिजेल इन्जिनमा आउने छ ।
टुसानमा दिएको २.० लिटर पेट्रोल इन्जिनले १५६ बीएच पावर तथा १९२ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै टुसानको २.० लिटरको डिजेल इन्जिनले १८६ बीएच पावर तथा ४१७ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ जेनेरेशन हुन्डाई टुसानको लम्बाई ४६३० एमएम, चौडाई १८६५ एमएम तथा उचाई १६६५ एमएम रहेको छ । यसको ह्वीलवेस २७५५ एमएमको रहेको छ । टुसानमा ५९८ लिटर क्षमताको बुट स्पेस र ६० लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको छ ।

यसको सुरुवाती भेरियन्ट जीएल म्यानुयलको मूल्य ८९ लाख ९६ हजार, जीएलएस अटोमेटीकको १ करोड ७ लाख ९६ हजार र जीएलएक्स अटोमेटीकको १ करोड १४ लाख ९६ हजार रहेको छ । त्यस्तै, फोर ह्वील ड्राइभ अप्सन सहितको जीएलएक्स अटामेटीकको १ करोड ३४ लाख ९६ लाख रहेको छ ।


