काठमाडौं । टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार टिगोरको फेसलिफ्ट मोडल आज सार्वजनिक हुने भएको छ । यसअघि पुरानो टेक्नोलोजीमा बनेको टिगोरलाई टाटाले आफ्नो इलेक्ट्रीक प्लेटफर्म जिपट्रोनमा ल्याउन लागेको हो ।
पहिलो जेनेरेशन मोडलको तुलनामा टाटाले विल्कुलै फरक प्लेटफर्म, नयाँ डिजाइन, नयाँ व्याट्रीप्याक र नयाँ मोटरको साथ बजारमा ल्याउन लागेको हो । विभिन्न तीन भेरियन्टमा नयाँ टिगोर इभी बजारमा आउने छ । कम्पनीले यसको एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस ड्यूलटोन भेरियन्ट बजारमा उतार्ने छ ।
टिगोर सेडानमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । साथै, यसमा ५५ किलोवाट क्षमताको मोटर जडान भएको छ । यसको पीक टर्क भने १७० न्यूटन मिटर रहेको छ ।
टाटाले यसमा आईपी६७ रेटेड व्याट्री दिएको छ । यसमा पनि नेक्सनमा जस्तै आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गर्ने अनुमान गरिएको छ । फास्ट चार्जरको प्रयोगले सून्यदेखि ८० प्रतिशत चार्ज गर्न एक घन्टा लाग्ने जनाइएको छ भने सामान्य चार्जरले ८.५ घन्टा लगाउने छ ।
अगाडि प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, ड्यूल एयरव्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर जस्ता फिचर स्टायडर्ड भेरियन्टमा नै उपलब्ध रहने छ ।
ड्यूल टोन कलरमा सजिएको ड्यासबोर्ड, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक, क्लाइमेट कन्ट्रोल, फरक ड्राइभ मोड जस्ता फिचर पाउन सकिन्छ । यसको मूल्य लगायतका कुरा आज सार्वजनिक हुनेछ ।

