काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा लगानीमा अंकुश लगाएको छ । राष्ट्र बैंकले वैशाख १५ गते ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० मा पाँचौं संशोधन गर्दै कर्जा लगानीका कडाइ गरेको हो ।
राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरूले सवारी साधन (विद्युतीय र कम्बस्चन) खरिदका लागि ६० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था गरेको छ । अर्थात् केन्द्रीय बैंकले लोन टु भ्यालु रेसियो ६० प्रतिशतमा झारेको हो । यसअघि हायर पर्चेज कम्पनीले ईभीको हकमा ८० प्रतिशत र कम्बस्चनमा ५० प्रतिशत मात्रै ऋण दिन पाउँथे ।
हायर पर्चेज कम्पनीले धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने भए पनि सवारी साधनको हकमा अधिकतम ६० प्रतिशत मात्रै पाउने भएका हुन् ।
‘कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ,’ राष्ट्र बैंकले भनेको छ, ‘तर सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायब मोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात (लोन टू भ्यालू रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ ।’
डिजेल/पेट्रोल सवारी केन्द्रीत लगानी गर्ने कम्पनीलाई नयाँ व्यवस्थाले थोरै भए पनि फाइदा पुग्ने देखिन्छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको व्यवसाय खुम्चने व्यवसायीहरू बताउँछन् । हालकोभन्दा व्यवसाय १०/१५ प्रतिशतसम्म घट्न सक्ने उनीहरूको भनाइ छ ।
ईभीमा लगानी गर्ने कम्पनीलाई धेरै असर पर्ने
नेपालमा हाल १० वटा हायर पर्चेज कम्पनी संचालनमा छन् । तीमध्ये केहीले कम्बस्चन गाडीमा मात्र लगानी गर्दै आएका छन् भने केहीले ईभी र कम्बस्चन दुवैमा लगानी गर्छन् ।
डिजेल/पेट्रोल सवारी केन्द्रीत लगानी गर्ने कम्पनीलाई नयाँ व्यवस्थाले थोरै भए पनि फाइदा पुग्ने देखिन्छ । यसअघि ५० प्रतिशत मात्रै कर्जा दिन पाउँथे भने अब ६० प्रतिशत लगानी गर्न पाउँछन् ।
तर, ईभीमा आधारित व्यवसाय गरिरहेका कम्पनीलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ । यसअघि ८० प्रतिशतसम्म ऋण दिँदै आएकोमा अब पहिलोकोभन्दा २० प्रतिशत खुम्चिएर लगानी गर्नुपर्छ ।
हुलास फिन सर्भ हायर पर्चेज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर ठाकुरले नयाँ व्यवस्थाले ईभीमा लगानी नगर्ने कम्पनीलाई खासै असर नपर्ने बताउँछन् ।
‘हामीले ईभी सेग्मेन्टमा कर्जा लगानी गरेका छैनौं र गर्दैनौं पनि । कम्बस्चन सवारीमा मात्रै लगानी गर्दै आएका छौं,’ उनले मेरो अटोसँग, ‘त्यसैले राष्ट्र बैंकको ६० प्रतिशतको सीमाले हामीलाई खासै असर पर्दैन ।’ ईभीमा केही जोखिम देखेर नै लगानी नगरिएको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजमा कुल १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गरेका छन् ।
मनोकामना हायर पर्चेज प्रालिका सीईओ शम्भु सुवेदी राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको व्यवसाय विस्तारमा असर पर्ने बताउँछन् । उनले कम्बस्चन गाडीमा लगानी गर्ने कम्पनीलाई खासै असर नगरे पनि ईभीमा लगानी गरिरहेका कम्पनीलाई ठूलो असर पार्ने बताए ।
‘हाम्रो कम्पनीले एग्रिकल्चर, कमर्शियल भेहिकल र कन्स्ट्रक्सन उपकरणमा लगानी गर्दै आएको छ । जसकारण खासै ठूलो असर पर्दैन,’ उनले मेरो अटोसँग भने, ‘तर, जुन कम्पनीले ईभी बेस्ड भएर व्यवसाय गरिरहेका छन् । उनीहरूलाई ठूलो असर पर्छ ।’
राष्ट्र बैंक हायर पर्चेज कम्पनीप्रति कठोर बन्दै गएको उनले बताए । ‘हायर पर्चेजले कर्जा दिँदा सर्भिस चार्ज लिन पाउँदैनन् । बैंकसँगै ऋण लिएर ४ प्रतिशत स्प्रेड भित्र रहेर काम गर्ने हो,’ उनले भने, ‘यस्तोमा पनि ६० प्रतिशतको सीमा तोक्दा व्यवसाय खुम्चिने निश्चित छ । हायर पर्चेज कम्पनी संकटतर्फ धकेलिन सक्छन् ।’
हायर पर्चेज कम्पनीलाई कडाइ गर्दा अब सवारी कर्जाका लागि बैंकमा निर्भर पर्नुपर्ने अवस्था आउने व्यवसायीहरू बताउँछन् । यसअघि बैंकले ऋण नदिएकाहरूले हायर पर्चेज कम्पनीबट लिन्थे ।
एक अर्को हायर पर्चेज कम्पनीका सीईओ राष्ट्र बैंकको नयाँ व्यवस्थाले ठूलो असर पर्ने बताए । ‘हामी बैंकसँग ऋण लिएर लगानी गर्ने हो । अहिले बैंक र हायर पर्चेज कम्पनी दुवैलाई एउटै व्यवस्था गरिएको छ । हाम्रोभन्दा बैंकको ब्याज सस्तो हुन्छ । अनि कर्जा पनि ६० प्रतिशत मात्रै दिन पाउने भएपछि हामीले कसरी काम गर्ने,’ उनले भने, ‘त्यसमा पनि ईभीमा लगानी गरिरहेका कम्पनीलाई अंकुश लगाइयो । जसले व्यवसाय गर्नै कठिन बनायो ।’ बैैंक र हायर पर्चेज कम्पनीलाई एउटै व्यवस्था लागू गर्दा अन्याय हुने उनको भनाइ छ ।
यद्यपि, दुईपाँग्रे सवारीमा प्रवाह हुने कर्जामा भने हायर पर्चेज कम्पनीलाई कुनै असर पर्दैन । बैंकले दुईपाँग्रे सवारीलाई कर्जा दिँदैनन् । किस्ताबन्दीमा दुईपाँग्रे सवारी किन्नेले हायर पर्चेज कम्पनीसँगै कर्जा लिने हुन् ।
एकीन तथ्यांक नभए पनि हायर पर्चेज कम्पनीको पोर्टोफोलियो करिब ३० अर्ब रुपैयाँ रहेको बताइन्छ । हायर पर्चेज कम्पनीहरूको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी छ । चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजमा कुल १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमा कमर्शियल भेहिकलमा ८७ अर्ब ६५ करोड र प्यासेन्जर भेहिकलमा ४२ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छन् ।