काठमाडौं । अब सवारी साधनको ब्लू बुक र लाइसेन्स बोकेर हिँड्न नपर्ने भएको छ ।
बागमती प्रदेश सरकारले शुक्रबारदेखि ‘ई-ब्लू बुक’ र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल) सेवा सुरू गरेसँगै ब्लू बुक र लाइसेन्स बोकेर हिँड्ने झन्झट हटेको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लू-बुकको क्यूआर प्रणाली नागरिक एपमा आबद्ध गर्ने र इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको औपचारिक उद्घाटन गरेका हुन् ।
यससँगै अब बागमती प्रदेश अन्तर्गतका सवारीधनीले सवारी साधनको ब्लू बुक र लाइसेन्स बोकेर हिँड्नु पर्दैन । अब नागरिक एपबाट ब्लू बुक र लाइसेन्स देखाउन सकिने छ ।
यसअघि नागरिक एपमा लाइसेन्स देखाउने सेवा सुरू भए पनि ब्लू बुक सेवा जोडिएको थिएन् । अब ब्लू-बुक पनि एपमै देखाउन सकिने बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
साथै, अब अनलाइनबाटै ब्लू-बुक नवीकरण, सवारी कर भुक्तानी तथा अन्य सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, ईडीएल प्रणालीमार्फत सेवाग्राहीले अब अनलाइनबाटै नयाँ लाइसेन्सका लागि आवेदन दिने, लाइसेन्स नवीकरण गर्ने, नयाँ लाइसेन्स वर्ग थप्ने तथा प्रतिलिपि प्राप्त गर्न सक्छन् ।
पछिल्लो समय सवारी साधन सम्बन्धी सेवाहरू धमाधम अनलाइन बनाउँदै लगिएको छ । हाल ट्राफिक जरिवाना पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आइसेकेको छ ।
बागमती प्रदेशमा हाल करिब २३ लाख सवारी साधन संचालनमा छन् । ती सवारीको साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसनको काम पनि धमाधम भइरहेको मन्त्रालयले जनाएको छ ।