एजेन्सी । विद्युतीय सवारी साधन (ईभी)हरू विश्व राजनीतिको एजेन्डादेखि मिडियाको लागि समाचार स्रोत बन्दै आएका छन् । तर, विश्व अटोमोबाइलको सबैभन्दा बलियो ब्राण्ड टोयोटाका अनुसार ईभी प्रदूषण कम गर्ने अचुक अस्त्र होइन । यस कुरामा कम्पनी अहिले पनि अडिग देखिन्छ ।
टोयोटाले आफूलाई ईभीमा निकै होसियारीपूर्वक कदम राखिरहेको छ । तर, हाइब्रिड कारको उत्पादन पछिल्ला दुई वर्षमा झण्डै दोब्बर बनाएको छ । यसले टोयोटाको रणनीतिलाई विगतमा ‘ब्लन्डर’ भन्नेहरू अहिले स्मार्ट निर्णय भन्न थालेका छन् ।
चीनमा टोयोटाले आफ्नो बीजेड सिरिजको लामो लाइनअप तयार पारेको छ । यद्यपि, धेरैले यसलाई अपेक्षा अनुसारको प्रगति मान्दैनन् । चीनमा २०२०/२१ मा स्थापना भएका स्टार्टअपहरूले नै विगत ५ वर्षमा ६/७ मोडल बजारमा ल्याइसकेका छन् । त्योसँग तुलना गर्दा टोयोटाको रफ्तार पक्कै कमजोर हो ।
टोयोटाका अध्यक्ष अकियो टोयोडा भन्छन्, ‘हामी आफ्नो बहु-ऊर्जा रणनीतिमा अडिग छौं । ईभीसँगै कार्बन उत्सर्जन कम गर्ने सबै किसिमका टेक्नोलोजी हाम्रो प्राथमिकतामा छन् । हामीले के गर्दा तुरुन्तै कार्बन उत्सर्जन कम गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर काम गरेका हौं । त्यसले हाइब्रिडमा हामीलाई व्यापक बनायो ।’
अटोमोटिभ न्यूजसँगको अन्तर्वार्तामा टोयोडाले आफूहरूको हाइब्रिड इतिहास औँल्याए । उनले भने, ‘हामीले अहिलेसम्म २ करोड ७० लाख युनिट हाइब्रिड कार बिक्री गरेका छौं । ती हाइब्रिड कार अहिले सकडमा चलेका ९० लाख ब्याट्री इलेक्ट्रीक भेहिकल जत्तिकै वातावरणमा प्रभाव पार्न सफल छन् । यदि, हामीले जापानमा ९० लाख ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन गरेका थियौं भने त्यसले कार्बन उत्सर्जन घटाउने होइन बढाउने थियो । किनभने जापानमा विद्युत थर्मल पावर प्लाण्टमा निर्भर छ ।’
टोयोटा अध्यक्षले कुनै तथ्यांक तोडमोड गरेनन् । बरु उनले सबै देशको लागि ईभी उत्कृष्ट विकल्प नभएको प्रष्ट बताए । उनले ईभी चार्जिङको समस्या, त्यसको पर्फमेन्स जस्ता कारण हाइब्रिड टेक्नोलोजी विश्वको लागि नयाँ विकल्प रहेको बताए ।
अहिलेको विश्व परिवेसलाई हेरेर नै टोयोटाले पहिला हाइब्रिड, ब्याट्री इलेक्ट्रीक तथा हाइड्रोजन फ्यूलसेल जस्ता टेक्नोलोजीमा आफूलाई जोड्दै लगेको अध्यक्ष टोयोडाको दाबी थियो ।
‘हामीले सबै विकल्पहरू हेर्नुपर्छ । विश्व नै कार्बन डाइअक्साइड विरुद्ध लडिरहेका छौं । त्यसको लागि हामी स्थिर नीतिमा अडिग छौं’, टोयोडाले भने ।