काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जाने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।