२८ प्रतिशतले बढ्यो दुई पाङ्ग्रे सवारीसाधनको आयात

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीसाधनको आयात २८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भर्खरै सकिएको आर्थिक वर्षमा मोटरसाइकलको आयात ३० प्रतिशतभन्दा धेरैले बढेको हो ।

अघिल्ला वर्षमा लगातार आयातमा गिरावट आएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा २८ प्रतिशतको वृद्धि भएको हो । गत आर्थिक वर्षमा दुई पाङ्ग्रे साधनको आयात १ लाख ४२ हजार २८१ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षमा १ लाख ११ हजार ३३५ यूनिट आयात भएको मोटरसाइकल र स्कुटर गत आवमा वृद्धि भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा १ लाख ४ हजार १८० यूनिट मात्र पेट्रोलबाट संचालन हुने दुई पाङ्ग्रे आयात भएकोमा उक्त संख्या बढेर १ लाख ३४ हजार ५३४ यूनिट पुगेको हो । पेट्रोलबाट चल्ने दुई पाङ्ग्रेको आयात ३० प्रतिशतले बढेको हो ।

पछिल्लो समय नेपालमा दुईपाँग्रेको एसेम्बल प्लान्ट स्थापनाको लहर चलेसँगै अघिल्लो आवको तुलनामा गत आवमा अनएसेम्वल मोटरसाइकलको आयात झण्डै शतप्रतिशतले वृद्धि भएको छ । आव २०७९/८० मा ४१ हजार ८९१ यूनिट अनएसेम्बल मोटरसाइकल अयात भएकोमा आव २०८०/८१ मा ८१ हजार ४९ यूनिट मोटरसाइकल तथा स्कुटर अनएसेम्बल अवस्थाका आयात भएका छन् ।

नेपालमा सर्वाधिक धेरै आयात हुने मोटरसाइकलमा १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल ८४ हजार ६२७ यूटिन आयात भएको छ ।
पेट्रोलबाट चल्ने दुईपाँग्रेको आयातमा सुधार देखिएपनि इलेक्ट्रीकतर्फको आयात भने स्थिर जस्तै छ । अघिल्लो आर्थिक वर्षमा ७ हजार १५५ यूनिट इलेक्ट्रीक दुईपाङ्ग्रे आयात भएकोमा गत आर्थिक वर्षमा भने ७ हजार ७४७ यूटिन आयात भएको हो ।


Back_to_top