काठमाडौं । नेपालको प्रचलित कानुनमा सवारी दुर्घटना गराई कसैको मृत्यु भएमा जन्म कैदसम्मको सजाय तोकिएको छ ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ दफा १६१ र १६२ मा सजाय सम्बन्धी व्यवस्था छ । दफा १६१ अनुसार कसले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई जुनसुकै ठाउँमा रहेको व्यक्तिको दुर्घटनाका कारण २१ दिन भित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई जन्म कैदको सजाय तोकिएको छ ।
त्यस्तै, कसैले ज्यान मार्ने मनसायले सवारी दुर्घटना गराएको तर, लक्षित गरिएको व्यक्ति मर्नबाट जोगिएको भए पनि सवारी चलाउनेलाई कसुरको मात्रा अनुसार ५ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
त्यसैगरी, सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थमा कसैले कुनै सवारी चलाउँदा दुर्घटना हुन गई सवारी साधनमा रहेको वा बाहिर रहेको व्यक्तिको मृत्यु भएमा त्यसरी सवारी चलाउने व्यत्तिःलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै, ऐनको दफा १६२ मा सवारी दुर्घटनाबाट कुनै व्यक्ति अंगभंग भएमा सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
तर, हाल प्रचलित ऐनमा एउटा अवस्थामा भने सवारी दुर्घटना भए पनि चालकलाई सजाय नहुने व्यवस्था गरिएको छ । ऐनमा चालकको काबू बाहिरि (कुनै व्यक्तिको नियन्त्रण वा अधिनमा नरहने अवस्था)को परिस्थितिबाट दुर्घटना भई कुनै हानी नोक्सनी पुग्न गएमा पनि चालकलाई सजाय नहुने व्यवस्था छ ।
‘दफा १६१ र १६२ मा लेखिएको अवस्था बाहेक अन्य अवस्थामा चालकको काबू बाहिरको परिस्थितिबाट दुर्घटना भई कुनै हानी नोक्सानी पुग्न गएको रहेछ भने त्यस्तो सवारी चलाउने चालकलाई कुनै सजाय हुने छैन,’ ऐनको दफा १६७ मा उल्लेख छ ।