के अब पालो ‘इन्डिया मेड ईभी’को हो ?

काठमाडौं । भारतमा उत्पादन भएको महिन्द्रा इटुओले तयार पारेको नेपाली ईभी बजारमा अहिले चिनियाँ ब्राण्डको हालीमुली छ । चीनमा उत्पादन भएका एमजी, बीवाइडी, ओमोडा/जेको, दीपल, नेटा, नामी जस्ता ब्राण्डका विद्युतीय साधनले बजारमा राम्रो बिक्री पाए ।

बीवाइडीले विश्व बजारमा जस्तै नेपालमा पनि ईभीलाई लिड गर्यो । कम्पनीले सन् २०२३ र २०२४ मा जुन हिसाबले विद्युतीय कार बिक्री गर्न सफल भयो, त्यो सबै चिनियाँ ब्राण्डको लागि लोभलाग्दो नै भयो । त्यसैले त यहाँका व्यापारीहरू एकपछि अर्को चिनियाँ ब्राण्ड ल्याउन तँछाडमछाड गरेर लागे ।

यहाँका व्यवसायीहरूले चिनियाँ उत्पादनलाई यसरी ग्लोरीफाइ गरेकी अब नेपालमा चिनियाँ ईभीको विकल्प नै छैन । त्यसको बहावमा धेरै पुराना अटोमोबाइल कारोबारीहरू बग्न पुगे । उनीहरू आफ्नो भएका ब्राण्डलाई बचाएर व्यवसाय गर्नुको साटो चीनका विभिन्न सहरमा नयाँ ब्राण्ड खोज्न भौतारिए । परिणामत: सन् २०२४ मा करिब एक दर्जन बढी चिनियाँ ब्राण्ड नेपाली बजारमा सार्वजनिक भए ।

चिनियाँ उत्पादन टेक्नोलोजी, डिजाइन र फिचरहरूको कम्बो प्याक भएर आएको हामीले देखेका छौं । अर्को चिनियाँ बजारमा बन्ने लिथियम आयोन ब्याट्री त्यहाँ उत्पादन हुने कारहरूको स्ट्रेन्थ हुने नै भयो । समग्रमा भारतीय उत्पादनभन्दा चिनियाँ उत्पादन १० वर्ष अगाडि रहेको नेपाली व्यापारीहरू बताउँदै आएका थिए । चिनियाँ कार बिक्री गर्ने मात्रै होइन, भारतीय कार बेच्नेले पनि चिनियाँ प्रोडक्टसँग प्रतिस्पर्धा गर्ने क्षमता भारतीय उत्पादकसँग नभएको दाबी गर्थे ।

केही दिन अगाडि भारतीय अटोमोबाइल जाइन्ट महिन्द्राले दुई इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै नेपाली अटो पण्डितहरूलाई चक्मा दिएको छ । अझ भनौं उनीहरूको दाबीलाई गतिलो झापड मिलेको छ । यत्ति भएपछि हामीले बुझ्नु पर्ने कुरा के हो भने टेक्नोलोजी र डिजाइन कुनै एक देशको लागि हुँदैन । जसले पनि राम्रो डिजाइन प्रयोगमा ल्याउन सक्छ भन्ने हो ।

अबको पालो भारतीय उत्पादनको हो !

कुनै समय ९७ प्रतिशत चार पाङ्ग्रे गाडी भारतबाट आयात हुन्थ्यो । अघिल्लो वर्षको तथ्यांक अनुसार चीनबाट ५० प्रतिशतभन्दा बढी कार आयात भयो । त्यसमा मुख्य भूमिका विद्युतीय कारकै थियो ।

भारतबाट टाटा, सिट्रोन, एमजीका विद्युतीय कार उत्पादन भएर आइरहेका थिए । महिन्द्राले एक्सयूभी ४०० ल्याएर बिक्री थालेको धेरै भएको छैन । यी गाडीले चिनियाँ उत्पादनलाई टक्कर दिन सकेका थिएनन् । तर, अब केही फरक परिदृष्य देखिन थालेको छ । महिन्द्रा, मारुती सुजुकी, हुन्डाई, एमजी, टाेयाेटा जस्ता ब्राण्डले नयाँ मोडल ल्याउन थालेका छन् । परम्परागत खेलाडी टाटा यसमा पछाडि पर्ने कुरै भएन ।

महिन्द्रा बीई ६ई र एक्सईभी ९ ई, सुजुकी इभिटारा, हुन्डाई क्रेटा ईभी, एमजी विन्डसर, टाटा सिरिया र ह्यारीयर ईभी बजारमा प्रवेशको लागि तयार छन् । अहिले भारतमा सार्वजनिक भएको मूल्य अनुसार यी सबै मोडलले मूल्यको आधारमा पनि चिनियाँ उत्पादनलाई कडा टक्कर दिने देखिन्छ ।

उपभोक्तालाई छनोट बढ्ने, बिक्रेतालाई प्रेसर

भारतमा उत्पादन भएका ईभीको संख्या वृद्धि र मूल्यमा प्रतिस्पर्धा हुने भएसँगै उपभोक्तालाई छनोट बढ्ने छ । आफ्नो बजेट र आवश्यकता अनुसारको मोडल छनोटमा सहयोग पुग्दा उपभोक्ता थप लाभाम्वित हुने देखिन्छ ।

गाडीमा मार्जिनको विषय सधैं विवादको विषय हो । ठ्याक्कै कति मार्जिनमा काम गर्दा ठिक हुन्छ भन्ने विषयमा केही भन्न सकिँदैन । तर, अहिले ईभीमा १० देखि ३६ प्रतिशतसम्म ग्रस मार्जिन राखेर आयातकर्ताले काम गर्दै आएको देखिन्छ । यस्तोमा प्रतिस्पर्धा तीव्र हुने भएसँगै बिक्रेतालाई भने मूल्यको प्रेसर पर्नेनै छ ।

रोचक हुँदै सन् २०२५ 

चिनियाँ र भारतीय मोडल बीचको रोचक प्रतिस्पर्धा सन् २०२५ मा देख्न पाइने छ । यी दुई देशका उत्पादन बीचको प्रतिस्पर्धाले कुन ब्राण्डलाई कता पुर्याउँछ अहिल्यै आँकलन गर्न कठिन हुन्छ ।

ईभी हुँदै हाइब्रिडमा चिनियाँ उत्पादकको फड्को र पेट्रोलबाट ईभीमा भारतीय उत्पादकको जम्पलाई नजिकबाट नियालेर उपभोक्ताले आफ्नो आवश्यकताको साधन राेज्नेछन् ।


Back_to_top