काठमाडौं । विश्वभर ब्याट्री इलेक्ट्रीक भेहिलकको बिक्री दर घट्दा भारतीय कार निर्माता भने ईभी विकासमा देखिएका छन् । हालै सम्पन्न भारत मोविलीटी ग्लोवल एक्स्पोमा मुख्य उत्पादकहरुले इलेक्ट्रीक भेहिलकलाई प्राथमिकताका दिएको देखियो ।
भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकी, हुन्डाई मोटर्स, महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्सले ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) को नयाँ–नयाँ मोडल देखाए ।
त्यस्तै टोयोटा, एमजी, बीवाइडी र भारत आफ्नो बिक्री सुरु गर्ने तयाीमा रहेको भिनफास्ट जस्ता अन्तर्राष्ट्रिय अटोमोवाइल कम्पनीहरुले समेत आफ्नो इलेक्ट्रीक कार नै देखाए ।
भारतीय बजारमा इलेक्ट्रीक भेहिकलको माग नगन्य छ । उपभोक्तालाई विद्युतीय कारले उसको यात्रा सहज बनाउछ भन्ने लागेकै छैन । त्यसैले त सन् २०२४ मा बिकेका ४३ लाखभन्दा बढि युनिट कारमा जम्मा २.५ प्रतिशत (९८ हजार ८१४ युनिट) मात्र इलेक्ट्रीक भेहिकल बिक्री भएको थियो ।
भारतीय बजारमा इलेक्ट्रीक भेहिकल ग्यासोलिन भन्दा महंगो तथा क्षेत्रफल र जनसंख्याको आधारमा एकदमै कम रहेको चार्जिङ नेटवर्कको कारण उपभोक्ता ईभी किन्न चाहँदैनन् । यहाँ अर्को कुरा ईभी चार्ज गर्न झण्डै नेपाली रुपैयाँ २५ देखि ४० रुपैयाँ प्रतियुनिट विद्युतको पैसा लाग्ने भएको कारण पेट्रोलको तुलनामा महंगो पर्ने उनिहरुको बुझाई छ ।
महंगो खरिद मूल्य र लामो यात्रा गर्न कठिन हुने तर्कसहित भारतीय उपभोक्ता हाइब्रिड र ग्यासोलिनलाई नै अगाडि राखेर आफ्नो गाडी छनोट गर्दै आएका छन् । केही सहरी उपभोक्ता भने ईभीको प्रयोगमा सन्तुष्ट भेटिन्छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ईभी विकास र विस्तारमा सरकारले सहयोग गर्ने बताएका छन् । त्यसमाथि तिब्र चार्ज हुने ईभी आउन थालेका कारण माग बढ्ने अनुमान गरिएको छ । भारतीय अटोमोवाइल मार्केट एनालिस्टहरुले यो वर्ष ईभी बिक्री भारतमा डबल हुने प्रक्षेपण गरेका छन् ।
भारतमा कार बजार सन् २०२४ मा ५ प्रतिशतले बढ्दा २० प्रतिशतले ईभीको बिक्री बढेको थियो । त्यसमाथि भारत सरकारले सन् २०३० सम्ममा ३० प्रतिशत ईभी बिक्री पुर्याउने लक्ष्य राखेको छ । त्यहि कारण ईभी खरिदकर्ताहरुलाई बिभिन्न खाले अनुदान तथा करमा सुविधा प्राप्त हुने आँकलन गरिएको छ ।

