भारतीय कार बजार ९ प्रतिशतले बढ्यो, सुजुकी बन्यो पहिलो

काठमाडौं । भारतीय अटोमोवाइल बजारमा ९ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष २०२३/२४ मा ४२ लाख ३० हजार कार बिक्री गर्दै उक्त वृद्धि भेट्टाएको हो ।

अप्रिलबाट सुरु भएर मार्चमा सकिएको भारतीय आर्थिक वर्ष २०२२/२३ मा ३८ लाख ९० हजार यूनिट कार बिक्री भएकोमा भर्खरै सकिएको आर्थिक वर्षमा बढेको हो ।

भारतका प्रमुख ४ अटो उत्पादकले आफ्नो उत्पादन र बिक्री बढाएका छन् । भारतको सबैभन्दा ठूलो उत्पादक मारुती सुजुकीले अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बिक्री बढाएको छ । उसले एक वर्षमा १७ लाख ५९ हजार ८८१ यूनिट प्यासेन्जर कार बिक्री गरेको हो ।

दोस्रोमा कोरियन कम्पनी हुन्डाईले ८ प्रतिशतले बिक्री बढाएको छ । उसले भारतमा ६ लाख १४ हजार ७२१ युनिट कार बेचेको छ । तेस्रोमा टाटा मोटर्सले ६ प्रतिशतले बिक्री बढाएर ५ लाख ७० हजार ९५५ यूनिट कार बिक्री गरेको हो ।

सबैभन्दा धेरै ग्रोथ भने महिन्द्राको छ । महिन्द्राले आर्थिक वर्ष २०२२/२३ मा ३ लाख ५९ हजार २५३ वटा प्यासेन्जर कार बिक्री गरेकोमा आव २०२३/२४ मा २८ प्रतिशतले बिक्री बढाउँदै ४ लाख ५९ हजार ८७७ यूनिट एसयूभी बिक्री गरेकोे हो ।

भारतमा बिक्री भएको कुल प्यासेन्जर कारमा एसयूभी सेग्मेन्टको बजार हिस्सा बढेको छ । आव २०२२/२३ मा एसयूभीको हिस्सा ४३ प्रतिशत रहेकोमा पछिल्लो आवमा यसको हिस्सा बढेर ५०.४ प्रतिशत पुगेको हो । ह्याचव्याकको हिस्सा ३४ प्रतिशतबाट घटेर २८ प्रतिशतमा झरेको छ । सेडानको हिस्सा पनि ९ प्रतिशतले घटेकोे हो ।


Back_to_top