निजी क्षेत्रले मात्रै इलेक्ट्रीक सवारीको पूर्वाधार बनाउन सक्दैनः सिप्रदीका सीईओ श्रेष्ठ

बिगत १९ वर्षदेखि सिप्रदी ट्रेडिङ्गमा आवद्ध भएर काम गर्दै सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका राजनबाबु श्रेष्ठ नेपाली अटोमोवाइल व्यवसायलाई नजिकबाट नियाल्ने मध्येका एक हुन् । नेपाली अटोमोवाइल बजारको पछिल्लो अवस्था, सिप्रदीको अबको बाटोलगायतका विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं । 

साथै, नाडाको सदस्य भएर सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठसँग सडक सुरक्षा र नेपाल प्रदूषण मादण्डमा हुन लागेको परिवर्तनलगायत विषयमा रहेर मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः

निकै उतार–चढावपूर्ण रहेको अटोमोवाइल व्यवसाय पछिल्लो दिनमा कसरी अगाडि बढिरहेको छ ?

चाडपर्व नजिकिँदैछ । सबैतिर चहल–पहल भैरहेको छ । हामीले यहाँ कमर्शियल र प्यासेञ्जर दुबै भेहिकल बिक्री गर्छौं । वर्षातकाे मौसममा भेहिकलको माग  कम हुने गर्छ । दशैंको सुरुवातसँगै भेहिकलको मार्केट बढ्दै जान्छ । पछिल्ला वर्षहरूको तुलना गर्ने हो भने बजार सकारात्मक बाटोमा रहेको छ ।

बजारको विस्तारसँगै चुनौती पनि थपिँदैगएको छ । जति बजार बढ्न थाल्छ, सरकारको नजर गाडी विलाशिताको साधन हो भन्नेतिर जाने गरेको छ । यद्यपि, सरकारले कर व्यवस्थामा यति कडाई गर्दा पनि ग्राहकको सवारीसाधनप्रतिको रुची वृद्धि भइरहेको छ । अब हरेक नागरिकको तवरबाट सरकारलाई सचेत गराउने वातावरण निर्माण हुँदै गएको हामीले देखेका छौँ ।

नागरिकले प्रयोग गर्ने के कुरालाई विलाशिताको रुपमा लिने भन्ने कुरा आफँमा विवादको विषय होला । तर, उसको आवत्–जावत गर्ने विषय त अधिकारमै पर्छ । स्वास्थ्यलाई असर गर्ने धूलो–धूवाँमा हिँड्ने रहर त कसैलाई पनि हुँदैन नि । त्यसैले आफ्नो दैनिक जीवनको खर्च कटाएरै भए पनि चारपाङ्ग्रे सवारीसाधन किन्नेको सङ्ख्या वृद्धि भइरहेकोे छ ।

नाडा अटो शो २०१८ भर्खरै सकिएको छ, अटो शोले कतिको उत्साह थपेको छ ?

गतवर्ष अटो बजार शिथिल भएको  थियो । यस वर्ष नाडा अटो शो चाडपर्वभन्दा केही अगाडि नै भएको छ । यसपटक अटोमा हामीले नियाल्दा अटो बजारप्रति मानिसको सकारात्मक दृष्टिकोण बनिरहेको पाएका छौँ । सरकारले सीसीको आधारमा कर उठाउने घोषणा गर्दागर्दै पनि गाडीप्रतिको आकर्षणमा वृद्धि भइरहेको हामीले पाएका छौँ । अब सवारीसाधन मानिसले मनोरञ्जनको रुपमा होइन, अत्यावश्यक साधनको रुपमा लिएको पाइन्छ ।

यसपटकको नाडा अटो शोमा धेरै सवारीसाधन बुकिङ्ग भएका छन्, यसको मतलव सवारीसाधन किन्नेको सङ्ख्या धेरै छ भन्ने हो । समग्रमा अटोबजार सकारात्मक रुपमा अगाडि बढेको छ ।

भारतीय बजार निकै ठूलो छ । तर पनि, हामी नेपालको सानो मार्केटमा राम्रो स्थान लिन सफल भएका छौँ । 

प्यासेञ्जर भेहिकल बिक्री गर्ने कम्पनीबीचमा तिब्र प्रतिस्पर्धा रहेको छ, यस्तोमा तपाईंको कम्पनी कुन स्थानमा छ ?

प्यासेञ्जर भेहिकलमा हामी तेस्रो स्थानमा छौँ । उत्पादनको नयाँ पाइपलाइन आएसँगै अझै माथिल्लो खुड्किलोमा उक्लने लक्ष्य लिएका छौँ । जसरी भारतीय बजारमा टाटाकोे माग बढिरहेको छ, त्यसको ‘इफेक्ट’ नेपाली बजारमा पनि सहजै देख्न सकिन्छ । भारतमा अन्य कम्पनी र ब्रान्डको मार्केट सेयर घट्दो क्रममा जाँदा टाटाले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । यसले हामीलाई नेपालमा काम गर्न पनि निकै ठूलो आत्मविश्वास दिएको छ ।

हामीले अहिले जति ग्राहकलाई टाटाको सवारीसाधन बेचेका छौँ । पफर्मेन्सको हकमा उनीहरू निकै सन्तुष्ट छन् । सिप्रदीको प्रमुख उद्देश्य नै कस्टुमर–केयर हो । यही सर्भिसको कारण हामी भारतीय बजारभन्दा बजार हिस्साको आधारमा माथि रहेका छौँ । भारतीय बजार निकै ठूलो छ । तर पनि, हामी नेपालको सानो मार्केटमा राम्रो स्थान लिन सफल भएका छौँ । आगामी दिनमा अझै माथि पुग्ने लक्ष्य लिएका छौँ, त्यो पूरा हुने हामी देख्दैछौँ । 

टाटाले उत्पादन गरेका कारमा पावर, फिचर्स, मूल्यजस्ता सवलपक्ष हुँदाहुदै पनि अन्य ब्रान्डसँग कडा प्रतिस्पर्धा गर्नुपरेको देखिन्छ । यसको प्रमुख कारण के होला ?

टाटाले आफ्नो विगतलाई पछाडि फर्केर हेर्नुपर्ने देखिन्छ । व्यावसायिक सवारीसाधनअन्तर्गत डिजेल गाडीमा टाटा निकै सफल र बलियो मानिएको छ । मानिसको सोचाईमा टाटा व्यावसायिक साधनमामात्रै राम्रो भन्ने सोचाई पाइन्छ । त्यसो हुँदा साना प्यासेञ्जर कारमा उत्तिकै सफल र राम्रो छैन कि भन्ने आशङ्का हामीले पनि पाएका छौँ । टाटाले सधैँ डिजेल गाडीलाई प्राथमिकतामा राखेर उत्पादन गर्दैआएको छ । तुलनात्मकरुपमा पेट्रोल गाडीभन्दा डिजेल गाडीले ठूलो आवाज निकाल्ने गर्छ । जसले मानिसमा भ्रम सिर्जना गरेको छ । हामीले धेरै मेहनत गर्नुपर्ने यो मुख्य कारण हो, जस्तो लाग्छ ।

अन्तर्राष्ट्रियस्तरको फिचर, प्रविधि तथा उत्पादनसँगै बिक्रीपछिको सेवामा हाम्रो मुख्य ध्यान केन्द्रित भएको छ ।

अबका दिनमा यस्तो समस्या नआउँला, कम्पनीले उत्कृष्ट प्ल्याटफर्म निर्माण गरेर कारहरू उत्पादन गरिरहेको छ । प्यासेञ्जर कारलाई व्यावसायिकरुपमा अगाडि लान विश्वस्तरीय प्रविधि अवलम्बन गरिरहेको छ । त्यसका लागि टाटाले अन्य कम्पनीहरूसँग सहकार्य गर्दैआएको छ । कम्पनीले २०१४ मा ल्याएको ‘हाेरिजाे–नेक्सट’ अवधारणाले अहिले टाटाको बजार विस्तारमा निकै ठूलो सफलता हात परेको छ । तर, विश्वस्तरीय मोडल हुँदाहुदै पनि मानिसको रोजाईमा पार्न निकै मिहेनत गर्नुपरिरहेको छ । नेपालमा हामीले फरक धार निर्माण गर्ने सोच बनाएका छौँ । भ्यालू–याडेड सर्भिसलाई विशेष प्राथमिकता दिँदैआएका छौँ । अन्तर्राष्ट्रियस्तरको फिचर, प्रविधि तथा उत्पादनसँगै बिक्रीपछिको सेवामा हाम्रो मुख्य ध्यान केन्द्रित भएको छ । हाम्रा लागि सकारात्मक कुरा भनेको ग्राहकले गाडीको पफर्मेन्स टेस्ट गरेपछि सकारात्मक विश्लेषण गर्ने गरेका छन् ।

भनेपछि अब कम्पनीका उत्पादनको ‘वड अफ माउथ पब्लिसिटी’ सुरु भएको छ, भन्न खोज्नुभएको हो ?

एउटा ग्राहकमा राम्रो प्रभाव पर्नेवित्तिकै त्यसको असर अन्य ग्राहकमा पनि फैलिन्छ । कम्पनीले ६ महिना अगाडि ‘नेक्शन’ लञ्च गरेको छ । सुरुवातमा ग्राहकमा द्वीविधा थियो, यो गाडी किन्ने कि नकिन्ने भन्ने विषयमा, तर ‘टेस्ट–ड्राइभ’ पश्चात् यसप्रतिको दृष्टिकोण नै परिवर्तन भयो । परिणामतः ‘नेक्शन’ को मार्केट सेल्स क्रमिकरुपमा बढिरहेको छ । बजारमा गाडीको सङ्ख्या बढ्दै गएसँगै सबैको नजर पर्ने भयो । अनि यो गाडी यस्तो छ भन्ने विषय छलफलमा आउन थाल्यो । यसको मतलव पछिल्लो दिनमा ‘वड अफ माउथ पब्लिसिटी’ ले पनि निकै सहयोग गरिरहेको छ ।

अहिले बजारमा हामी आफूले आफैँलाई प्रेशर क्रियट गराइरहेका छौँ ।

अहिले भारतमा टियागोको ‘सेल्स–नेक्सान’ कोभन्दा बढी छ, तर टाटाको उत्कृष्टतालाई ‘नेक्शन’ले बाहिर ल्याइदिएको छ ।

टाटाले करिब एक दर्जन मोडल २ वर्षभित्र ल्याउने भनिरहेको छ, नेपालमा तपाईंहरूको रणनीति कस्तो हुनेछ ?

दुईदेखि तीन वर्षमा १२ वटा नयाँ मोडल ल्याउने घोषणा कम्पनीले यसअघि नै गरिसकेको छ । अब आउने नयाँ गाडीहरू नयाँ प्लाटफर्ममा आधारित भएर आउनेछन् । विश्वस्तरीय प्रविधिको प्रयोगले नयाँ आउने मोडलहरू उत्कृष्ट हुने कुरामा दुईमत छैन ।

नेपाली बजारमा यसको भ्यालू ‘क्रियट’ गर्न सिप्रदीले कस्तो भूमिका निभाउँला ?

सिप्रदी ग्राहक केन्द्रित कम्पनी हो । हिजोदेखि नै हाम्रो इतिहास हेर्नुभयो भने तपाईंलाई बुझ्न सजिलो हुन्छ । भोलिका दिनमा पनि हामी अझै परिष्कृत सेवा ग्राहकलाई दिनेछौँ । उदारणका लागि टाटाको शोरुम हेर्नुस्, हाम्रा सर्भिस सेन्टर हेर्नुस् । ग्राहकमा उत्पादन, मोडलको फिचरलगायतका अनुभव उत्कृष्ट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी जुन हिसाबले भिजन निर्माण गरेर अगाडि बढेका छौँ, त्यो अरूलाई अनौठो लाग्नसक्छ । एकदमै ‘ईनोभेटिभ आइडिया’ सहित अगाडि बढिरहेका छौँ । ग्राहकलाई उत्कृष्ट अनुभव दिने हाम्रो लक्ष्य हो । अहिले बजारमा हामीले आफूले आफैँलाई प्रेशर क्रियट गराइरहेका छौँ । उदारणका लागि सर्भिसिङ्गका लागि निश्चित समय तोकिएको छ, तोकिएको समयमा काम नभए हामी ग्राहकलाई फाइन तिर्छौं । यसले ग्राहकको विश्वास झनै बढाएको छ ।

चार्जिङ्ग स्टेशन, इलेक्ट्रीक भेहिकल आयात गर्ने जिम्मेवारी निजी क्षेत्रले वहन गर्न सके पनि यसको पूर्वाधार निर्माणमा राज्य नै लाग्नुपर्छ । अहिले तत्कालको चुनौती भनेको ‘पावर सप्लाई’ हो । 

इलेक्ट्रीक गाडीप्रतिको आकर्षण बढ्दै गएको छ । सँगै, हाइड्रोजन गाडीको वहस भइरहेको छ । तपाईंले यहाँको मार्केट, ग्राहकको माग र पूर्वाधारलाई कसरी अध्ययन गर्नुभएको छ ?

नेपाल जलविद्युत् उत्पादनको निकै राम्रो सम्भावना बोकेको राष्ट्र हो । व्यापारघाटाको सबैभन्दा ठूलो कारकतत्व नै पेट्रोल वा डिजेल नै हो । यदि हामीले इलेक्ट्रीक भेहिकललाई राम्रोसँग चलाउन सकेमा व्यापारघाटालाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसका लागि उत्तिकै चुनौतीपूर्ण देखिन्छ । सर्वप्रथम पूर्वाधारको विकास गर्नुपर्यो । तर, यसको व्यवस्थापन निजी क्षेत्रले गर्न सक्दैन । चार्जिङ्ग स्टेशन, इलेक्ट्रीक भेहिकल आयात गर्ने जिम्मेवारी निजी क्षेत्रले वहन गर्न सके पनि यसको पूर्वाधार निर्माणमा राज्य नै लाग्नुपर्छ । अहिले तत्कालको चुनौती भनेको ‘पावर सप्लाई’ हो । हाम्रा घरमा भएका विद्युतीय पूर्वाधार सवारीसाधन चार्ज गर्न थेग्ने किसिमको छैन । त्यसैले सरकारी तवरबाट यसको बजार विस्तारमा ठोस कदम चाल्ने हो भने यसको फाइदा नेपालले लिनसक्ने देखिन्छ ।

ठूलो मात्रामा कमर्शियल गाडी बेच्नुहुन्छ । प्यासेञ्जर गाडीमा पनि अगाडि बढ्दै जानुभएको छ । नेपाल प्रदूषण मापदन्ड परिमार्जन हुँदैछ ? कसरी अगाडि बढ्नु पर्ला ?

म नाडाको ‘इमिशन’ कमिटीको सभापति नै हुँ । हामी सरकारसँग सहकार्य गरेरै ‘इमिशन’का लागि काम गरिरहेका छौँ । नेपाल स्ट्यान्डर्ड ल्याउँदा पनि नाडाको त्यति नै ठूलो योगदान थियो । नयाँ प्रदूषण मापदन्ड निर्धारणका लागि सरकारसँग हामी छलफल गरिरहेका छौँ । अहिले एउटा कमिटी निर्माण भएको छ । उक्त कमिटीमा छलफलबाट मापदन्ड निर्माण, योजनाको निक्याेल गर्छाैं । भारत पनि बीएस–६ मा जाने तयारीमा छ । हामीले पनि त्यही अवधारणालाई अवलम्बन गर्नु जरुरी छ । तर, चुनौती प्रशस्तै छन् । यहाँ राजमार्गको गुणस्तरको अवस्था र इन्धनको गुणस्तरलाई सुधार्न सकेमा राम्रो नतिजा आउन सक्छ । नत्र झन् समस्या बढ्ने खतरा रहन्छ ।


Back_to_top