बिगत १९ वर्षदेखि सिप्रदी ट्रेडिङ्गमा आवद्ध भएर काम गर्दै सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका राजनबाबु श्रेष्ठ नेपाली अटोमोवाइल व्यवसायलाई नजिकबाट नियाल्ने मध्येका एक हुन् । नेपाली अटोमोवाइल बजारको पछिल्लो अवस्था, सिप्रदीको अबको बाटोलगायतका विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं ।
साथै, नाडाको सदस्य भएर सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठसँग सडक सुरक्षा र नेपाल प्रदूषण मादण्डमा हुन लागेको परिवर्तनलगायत विषयमा रहेर मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः
निकै उतार–चढावपूर्ण रहेको अटोमोवाइल व्यवसाय पछिल्लो दिनमा कसरी अगाडि बढिरहेको छ ?
चाडपर्व नजिकिँदैछ । सबैतिर चहल–पहल भैरहेको छ । हामीले यहाँ कमर्शियल र प्यासेञ्जर दुबै भेहिकल बिक्री गर्छौं । वर्षातकाे मौसममा भेहिकलको माग कम हुने गर्छ । दशैंको सुरुवातसँगै भेहिकलको मार्केट बढ्दै जान्छ । पछिल्ला वर्षहरूको तुलना गर्ने हो भने बजार सकारात्मक बाटोमा रहेको छ ।
बजारको विस्तारसँगै चुनौती पनि थपिँदैगएको छ । जति बजार बढ्न थाल्छ, सरकारको नजर गाडी विलाशिताको साधन हो भन्नेतिर जाने गरेको छ । यद्यपि, सरकारले कर व्यवस्थामा यति कडाई गर्दा पनि ग्राहकको सवारीसाधनप्रतिको रुची वृद्धि भइरहेको छ । अब हरेक नागरिकको तवरबाट सरकारलाई सचेत गराउने वातावरण निर्माण हुँदै गएको हामीले देखेका छौँ ।
नागरिकले प्रयोग गर्ने के कुरालाई विलाशिताको रुपमा लिने भन्ने कुरा आफँमा विवादको विषय होला । तर, उसको आवत्–जावत गर्ने विषय त अधिकारमै पर्छ । स्वास्थ्यलाई असर गर्ने धूलो–धूवाँमा हिँड्ने रहर त कसैलाई पनि हुँदैन नि । त्यसैले आफ्नो दैनिक जीवनको खर्च कटाएरै भए पनि चारपाङ्ग्रे सवारीसाधन किन्नेको सङ्ख्या वृद्धि भइरहेकोे छ ।
नाडा अटो शो २०१८ भर्खरै सकिएको छ, अटो शोले कतिको उत्साह थपेको छ ?
गतवर्ष अटो बजार शिथिल भएको थियो । यस वर्ष नाडा अटो शो चाडपर्वभन्दा केही अगाडि नै भएको छ । यसपटक अटोमा हामीले नियाल्दा अटो बजारप्रति मानिसको सकारात्मक दृष्टिकोण बनिरहेको पाएका छौँ । सरकारले सीसीको आधारमा कर उठाउने घोषणा गर्दागर्दै पनि गाडीप्रतिको आकर्षणमा वृद्धि भइरहेको हामीले पाएका छौँ । अब सवारीसाधन मानिसले मनोरञ्जनको रुपमा होइन, अत्यावश्यक साधनको रुपमा लिएको पाइन्छ ।
यसपटकको नाडा अटो शोमा धेरै सवारीसाधन बुकिङ्ग भएका छन्, यसको मतलव सवारीसाधन किन्नेको सङ्ख्या धेरै छ भन्ने हो । समग्रमा अटोबजार सकारात्मक रुपमा अगाडि बढेको छ ।
भारतीय बजार निकै ठूलो छ । तर पनि, हामी नेपालको सानो मार्केटमा राम्रो स्थान लिन सफल भएका छौँ ।
प्यासेञ्जर भेहिकल बिक्री गर्ने कम्पनीबीचमा तिब्र प्रतिस्पर्धा रहेको छ, यस्तोमा तपाईंको कम्पनी कुन स्थानमा छ ?
प्यासेञ्जर भेहिकलमा हामी तेस्रो स्थानमा छौँ । उत्पादनको नयाँ पाइपलाइन आएसँगै अझै माथिल्लो खुड्किलोमा उक्लने लक्ष्य लिएका छौँ । जसरी भारतीय बजारमा टाटाकोे माग बढिरहेको छ, त्यसको ‘इफेक्ट’ नेपाली बजारमा पनि सहजै देख्न सकिन्छ । भारतमा अन्य कम्पनी र ब्रान्डको मार्केट सेयर घट्दो क्रममा जाँदा टाटाले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । यसले हामीलाई नेपालमा काम गर्न पनि निकै ठूलो आत्मविश्वास दिएको छ ।
हामीले अहिले जति ग्राहकलाई टाटाको सवारीसाधन बेचेका छौँ । पफर्मेन्सको हकमा उनीहरू निकै सन्तुष्ट छन् । सिप्रदीको प्रमुख उद्देश्य नै कस्टुमर–केयर हो । यही सर्भिसको कारण हामी भारतीय बजारभन्दा बजार हिस्साको आधारमा माथि रहेका छौँ । भारतीय बजार निकै ठूलो छ । तर पनि, हामी नेपालको सानो मार्केटमा राम्रो स्थान लिन सफल भएका छौँ । आगामी दिनमा अझै माथि पुग्ने लक्ष्य लिएका छौँ, त्यो पूरा हुने हामी देख्दैछौँ ।

टाटाले उत्पादन गरेका कारमा पावर, फिचर्स, मूल्यजस्ता सवलपक्ष हुँदाहुदै पनि अन्य ब्रान्डसँग कडा प्रतिस्पर्धा गर्नुपरेको देखिन्छ । यसको प्रमुख कारण के होला ?
टाटाले आफ्नो विगतलाई पछाडि फर्केर हेर्नुपर्ने देखिन्छ । व्यावसायिक सवारीसाधनअन्तर्गत डिजेल गाडीमा टाटा निकै सफल र बलियो मानिएको छ । मानिसको सोचाईमा टाटा व्यावसायिक साधनमामात्रै राम्रो भन्ने सोचाई पाइन्छ । त्यसो हुँदा साना प्यासेञ्जर कारमा उत्तिकै सफल र राम्रो छैन कि भन्ने आशङ्का हामीले पनि पाएका छौँ । टाटाले सधैँ डिजेल गाडीलाई प्राथमिकतामा राखेर उत्पादन गर्दैआएको छ । तुलनात्मकरुपमा पेट्रोल गाडीभन्दा डिजेल गाडीले ठूलो आवाज निकाल्ने गर्छ । जसले मानिसमा भ्रम सिर्जना गरेको छ । हामीले धेरै मेहनत गर्नुपर्ने यो मुख्य कारण हो, जस्तो लाग्छ ।
अन्तर्राष्ट्रियस्तरको फिचर, प्रविधि तथा उत्पादनसँगै बिक्रीपछिको सेवामा हाम्रो मुख्य ध्यान केन्द्रित भएको छ ।
अबका दिनमा यस्तो समस्या नआउँला, कम्पनीले उत्कृष्ट प्ल्याटफर्म निर्माण गरेर कारहरू उत्पादन गरिरहेको छ । प्यासेञ्जर कारलाई व्यावसायिकरुपमा अगाडि लान विश्वस्तरीय प्रविधि अवलम्बन गरिरहेको छ । त्यसका लागि टाटाले अन्य कम्पनीहरूसँग सहकार्य गर्दैआएको छ । कम्पनीले २०१४ मा ल्याएको ‘हाेरिजाे–नेक्सट’ अवधारणाले अहिले टाटाको बजार विस्तारमा निकै ठूलो सफलता हात परेको छ । तर, विश्वस्तरीय मोडल हुँदाहुदै पनि मानिसको रोजाईमा पार्न निकै मिहेनत गर्नुपरिरहेको छ । नेपालमा हामीले फरक धार निर्माण गर्ने सोच बनाएका छौँ । भ्यालू–याडेड सर्भिसलाई विशेष प्राथमिकता दिँदैआएका छौँ । अन्तर्राष्ट्रियस्तरको फिचर, प्रविधि तथा उत्पादनसँगै बिक्रीपछिको सेवामा हाम्रो मुख्य ध्यान केन्द्रित भएको छ । हाम्रा लागि सकारात्मक कुरा भनेको ग्राहकले गाडीको पफर्मेन्स टेस्ट गरेपछि सकारात्मक विश्लेषण गर्ने गरेका छन् ।
भनेपछि अब कम्पनीका उत्पादनको ‘वड अफ माउथ पब्लिसिटी’ सुरु भएको छ, भन्न खोज्नुभएको हो ?
एउटा ग्राहकमा राम्रो प्रभाव पर्नेवित्तिकै त्यसको असर अन्य ग्राहकमा पनि फैलिन्छ । कम्पनीले ६ महिना अगाडि ‘नेक्शन’ लञ्च गरेको छ । सुरुवातमा ग्राहकमा द्वीविधा थियो, यो गाडी किन्ने कि नकिन्ने भन्ने विषयमा, तर ‘टेस्ट–ड्राइभ’ पश्चात् यसप्रतिको दृष्टिकोण नै परिवर्तन भयो । परिणामतः ‘नेक्शन’ को मार्केट सेल्स क्रमिकरुपमा बढिरहेको छ । बजारमा गाडीको सङ्ख्या बढ्दै गएसँगै सबैको नजर पर्ने भयो । अनि यो गाडी यस्तो छ भन्ने विषय छलफलमा आउन थाल्यो । यसको मतलव पछिल्लो दिनमा ‘वड अफ माउथ पब्लिसिटी’ ले पनि निकै सहयोग गरिरहेको छ ।
अहिले बजारमा हामी आफूले आफैँलाई प्रेशर क्रियट गराइरहेका छौँ ।
अहिले भारतमा टियागोको ‘सेल्स–नेक्सान’ कोभन्दा बढी छ, तर टाटाको उत्कृष्टतालाई ‘नेक्शन’ले बाहिर ल्याइदिएको छ ।
टाटाले करिब एक दर्जन मोडल २ वर्षभित्र ल्याउने भनिरहेको छ, नेपालमा तपाईंहरूको रणनीति कस्तो हुनेछ ?
दुईदेखि तीन वर्षमा १२ वटा नयाँ मोडल ल्याउने घोषणा कम्पनीले यसअघि नै गरिसकेको छ । अब आउने नयाँ गाडीहरू नयाँ प्लाटफर्ममा आधारित भएर आउनेछन् । विश्वस्तरीय प्रविधिको प्रयोगले नयाँ आउने मोडलहरू उत्कृष्ट हुने कुरामा दुईमत छैन ।
नेपाली बजारमा यसको भ्यालू ‘क्रियट’ गर्न सिप्रदीले कस्तो भूमिका निभाउँला ?
सिप्रदी ग्राहक केन्द्रित कम्पनी हो । हिजोदेखि नै हाम्रो इतिहास हेर्नुभयो भने तपाईंलाई बुझ्न सजिलो हुन्छ । भोलिका दिनमा पनि हामी अझै परिष्कृत सेवा ग्राहकलाई दिनेछौँ । उदारणका लागि टाटाको शोरुम हेर्नुस्, हाम्रा सर्भिस सेन्टर हेर्नुस् । ग्राहकमा उत्पादन, मोडलको फिचरलगायतका अनुभव उत्कृष्ट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी जुन हिसाबले भिजन निर्माण गरेर अगाडि बढेका छौँ, त्यो अरूलाई अनौठो लाग्नसक्छ । एकदमै ‘ईनोभेटिभ आइडिया’ सहित अगाडि बढिरहेका छौँ । ग्राहकलाई उत्कृष्ट अनुभव दिने हाम्रो लक्ष्य हो । अहिले बजारमा हामीले आफूले आफैँलाई प्रेशर क्रियट गराइरहेका छौँ । उदारणका लागि सर्भिसिङ्गका लागि निश्चित समय तोकिएको छ, तोकिएको समयमा काम नभए हामी ग्राहकलाई फाइन तिर्छौं । यसले ग्राहकको विश्वास झनै बढाएको छ ।
चार्जिङ्ग स्टेशन, इलेक्ट्रीक भेहिकल आयात गर्ने जिम्मेवारी निजी क्षेत्रले वहन गर्न सके पनि यसको पूर्वाधार निर्माणमा राज्य नै लाग्नुपर्छ । अहिले तत्कालको चुनौती भनेको ‘पावर सप्लाई’ हो ।
इलेक्ट्रीक गाडीप्रतिको आकर्षण बढ्दै गएको छ । सँगै, हाइड्रोजन गाडीको वहस भइरहेको छ । तपाईंले यहाँको मार्केट, ग्राहकको माग र पूर्वाधारलाई कसरी अध्ययन गर्नुभएको छ ?
नेपाल जलविद्युत् उत्पादनको निकै राम्रो सम्भावना बोकेको राष्ट्र हो । व्यापारघाटाको सबैभन्दा ठूलो कारकतत्व नै पेट्रोल वा डिजेल नै हो । यदि हामीले इलेक्ट्रीक भेहिकललाई राम्रोसँग चलाउन सकेमा व्यापारघाटालाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसका लागि उत्तिकै चुनौतीपूर्ण देखिन्छ । सर्वप्रथम पूर्वाधारको विकास गर्नुपर्यो । तर, यसको व्यवस्थापन निजी क्षेत्रले गर्न सक्दैन । चार्जिङ्ग स्टेशन, इलेक्ट्रीक भेहिकल आयात गर्ने जिम्मेवारी निजी क्षेत्रले वहन गर्न सके पनि यसको पूर्वाधार निर्माणमा राज्य नै लाग्नुपर्छ । अहिले तत्कालको चुनौती भनेको ‘पावर सप्लाई’ हो । हाम्रा घरमा भएका विद्युतीय पूर्वाधार सवारीसाधन चार्ज गर्न थेग्ने किसिमको छैन । त्यसैले सरकारी तवरबाट यसको बजार विस्तारमा ठोस कदम चाल्ने हो भने यसको फाइदा नेपालले लिनसक्ने देखिन्छ ।
ठूलो मात्रामा कमर्शियल गाडी बेच्नुहुन्छ । प्यासेञ्जर गाडीमा पनि अगाडि बढ्दै जानुभएको छ । नेपाल प्रदूषण मापदन्ड परिमार्जन हुँदैछ ? कसरी अगाडि बढ्नु पर्ला ?
म नाडाको ‘इमिशन’ कमिटीको सभापति नै हुँ । हामी सरकारसँग सहकार्य गरेरै ‘इमिशन’का लागि काम गरिरहेका छौँ । नेपाल स्ट्यान्डर्ड ल्याउँदा पनि नाडाको त्यति नै ठूलो योगदान थियो । नयाँ प्रदूषण मापदन्ड निर्धारणका लागि सरकारसँग हामी छलफल गरिरहेका छौँ । अहिले एउटा कमिटी निर्माण भएको छ । उक्त कमिटीमा छलफलबाट मापदन्ड निर्माण, योजनाको निक्याेल गर्छाैं । भारत पनि बीएस–६ मा जाने तयारीमा छ । हामीले पनि त्यही अवधारणालाई अवलम्बन गर्नु जरुरी छ । तर, चुनौती प्रशस्तै छन् । यहाँ राजमार्गको गुणस्तरको अवस्था र इन्धनको गुणस्तरलाई सुधार्न सकेमा राम्रो नतिजा आउन सक्छ । नत्र झन् समस्या बढ्ने खतरा रहन्छ ।

