काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)को युग सुरू भएसँगै विश्वभर चिनियाँ कारको दाबदबा बढ्दै गएको छ । नेपालमा सन् २०२३ बाट ईभीको बिक्रीले रकेट ग्रोथ पाएको हो ।
चिनियाँ कार निर्माताहरूसँग अहिले युरोपियन कार निर्मातादेखि अमेरिकी निर्मातासम्म हायल कायल छन् । उनीहरू चीनको तीव्रतासँग प्रतिस्पर्धा गर्न सक्ने स्थानमै छैनन्भन्दा हुन्छ । अमेरिकी कार निर्माताहरूले सरकारसँगै बेलाबखत प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना भएको बताउँदै आएका छन् ।
एक वर्ष अगाडि फोर्डका सीईओ तथा चेयरम्यान बील फोर्डले भनेका थिए, ‘हामी चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । मर्नको लागि तयार भए हुन्छ ।’ उनको त्यो भनाइ विश्वभरका मिडियाले समाचार बनाएका थिए । सुन्दा धेरैलाई अप्रिय लाग्यो होला, सत्य त्यही हो । अहिले चिनियाँ ईभीसँग मूल्यकै कारण कसैले पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना भएको हो ।
नेपालको गहिरो सम्बन्ध चिनियाँ उत्पादनसँग छ । विगतादेखि चीनमा उत्पादन भएका जुत्तादेखि ज्याकेटसम्मले सस्तो मूल्यकै कारण नेपालीको आवश्यकता पूरा गराउन सफल भएको थियो । अहिले चिनियाँ कारको प्रवेशसँगै नेपालको अटोमोबाइल उद्योगले अर्कै बाटो समातेको अनुभव गर्न सकिन्छ ।
किन बलिया भए चिनियाँ कार उत्पादक ?
चिनियाँ उत्पादक बलिया हुनुको मुख्य कारण ब्याट्रीमा बलियो पहुँच हुनु हो । चीनमा दर्जनौं हाइभोल्टेज ब्याट्री उत्पादक छन् । त्यसमा पनि विश्वका ठूला उत्पादक सीएटीएल, बीवाइडी, गोसन र ईभीई जस्ता ब्याट्री उत्पादक ब्राण्ड चिनियाँ हुन् ।
विद्युतीय सवारी साधनको मुख्य कम्पोनेन्ट मानिने ब्याट्री र ब्याट्री मेनेजमेन्ट सिस्टममा चिनियाँ कम्पनीहरूले ठूलो फड्को मारेका छन् । जसको कारण उनीहरूको ईभी उत्पादन लागत कम हुँदै गएको छ । अर्को कुरा चिनियाँ उत्पादकलाई चिप्सको समस्या पनि छैन । त्यसैले उनीहरू गाडीको मूल्य कटौती गर्न सक्षम भएका छन् ।
विद्युतीय कार उद्योगलाई चीन सरकारले दिएको सपोर्टको विश्वभर चर्चा भइरहेका छन् । अधिक अनुदानदेखि विशेष क्षेत्र घोषणासम्म सरकारले गरेकै कारण चीनमा स्टार्टअप कम्पनीहरू पनि टिकिरहेका छन् ।
उदयमान अर्थतन्त्रमा ईभीको माग उच्च हुँदा चीनका कारहरूको बिक्री राम्रो संख्यामा देखिएको छ । एशियाका धेरै देशमा चिनियाँ ईभीको क्रेज नै बढेको छ । थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, नेपाल जस्ता देशमा चिनियाँ ईभीको बलियो पकड कायम भएको छ । युरोपमा पनि धेरै कर लगाइएको भए पनि चिनियाँ ईभी राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।
अन्यको अवस्था के ?
विश्वका ठूला कार निर्माता मानिने टोयोटा भर्खर ईभीमा बाँमे सर्दैछ । फक्वागेनले ठूलो लगानी ईभी विकासमा लगाए पनि मूल्यको हिसाबले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम देखिएको छैन ।
विश्वको तेस्रो ठूलो कार निर्माता ग्रुप हुन्डाई÷कियाले पनि ईभी उत्पादनलाई प्राथमिकतामा राखेका छन् । तर, उनीहरूले उत्पादन गरेको ईभी मूल्यका हिसाबले कतै चिनियाँ उत्पादनलाई टक्कर दिन सक्ने खालका छैनन् ।
युरोपियन जाइन्ट रेनो र स्टेलान्टिस ग्रुपको अवस्था पनि त्यस्तै छ । भारतीय उत्पादक टाटा र महिन्द्रा जस्ता ब्राण्डले तुलनात्मक रूपमा कम मूल्यमा भारतको लागि कार उत्पादन गरे पनि निर्यातमा कुनै ठोस काम गरेका छैनन् । त्यसैले यी कारको मूल्य पनि चिनियाँ कारको अगाडि महँगो लाग्छ ।
चिनियाँ बाहेकका कार निर्माता ईभी बनाउँछन् तर, मूल्यका आधारमा चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । अहिलेसम्मको अवस्था हेर्दा चिनियाँ कार निर्मातालाई छेउछाउबाट पनि कसैले टक्कर दिन सक्ने अवस्था छैन ।
टिक्लान् अन्य ब्राण्ड ?
यसको ठ्याक्कै उत्तर त कसैसँग हुँदैन । जुन किसिमले कम मूल्यका फिचर लोडेड कार चिनियाँ उत्पादकले अफर गरिरहेका छन्, त्यसलाई उछिन्ने अफर अन्य ब्राण्डले दिन सक्ने अवस्था देखिँदैन ।
पछिल्ला ३/४ वर्षमा जति फिचर भएका कारहरू आए त्यस्ता फिचर नेपालमा बिक्री हुने कमै कारमा देखिएको थियो । अहिले १७/१८ लाखका कारमै पनि करोडौं मूल्य पर्ने कारको फिचर पाउन सकिन्छ । चिनियाँ उत्पादनले फिचरलाई धेरै पैसा तिर्ने भन्ने भाष्य नै परिवर्तन गरेका छन् ।
बढ्दो ईभीको लागि आवश्यक पूर्वाधार निर्माण र चिनियाँ उत्पादकको ‘प्राइस अफर’को अगाडि अन्य ब्राण्डलाई टिक्न मुस्किल नै हुनेदेखिन्छ ।


