जेएसी टी८ टेष्ट ड्राइभः अधिकांश खराब बाटामा टु ह्वील नै काफी (भिडियोसहित)

काठमाडौं । डबल क्याव पीकअप अहिले नेपालमा निकै राम्रो संख्यामा विक्री हुन थालेको छ । बजारमा टोयोटा, निसान, फोर्ड, इसुजु, फोटोन, महिन्द्रा, टाटा जस्ता कम्पनीले पीकअप विक्री गर्दै आएका छन् ।

चालु आवको पहिलो ६ महिनामा विभिन्न कम्पनीले १ हजार ८०० यूनिटभन्दा धेरै डबल क्याव पीकअप नेपाल ल्याएका छन् । यही भिडमा प्रतिस्पर्धा गर्न चिनियाँ ब्राण्ड जेएसीले आफ्नो चर्चित पीकअप टी–८ बजारमा ल्याएको छ ।

आकर्षक फिचर लोडेड जेएसी पीकअपमा फक्सवागेनले बनाएको डिजेल इन्जिन प्रयोग भएको छ भने यसको क्यावीन पनि यूरोपियन डिजाइनबाट प्रेरित रहेको छ । चीनमा फक्सवागेन समूह र जेएसी बीच व्यवसायीक साझेदारी हुँदै आएको छ ।

विशेषत अफरोडमा चलाउन डिजाइन गरिएका पीकअप टी–८लाई मेरोअटोले परिक्षण गर्ने निधो गरेसँगै विगत १० वर्षदेखि भत्काएर छाडिएको काठमाडौं–ककनी–त्रिशुली जाने बाटो हाम्रो रोजाइमा परेको थियो ।

बालाजुबाट चिसापानी हुँदै तीनपिप्लेसम्मको यात्रा काठमाडौं नै भएपनि निकै खराब थियो । हामीले पीकअपलाई फलो गर्दै भिडियो खिच्न सहयोग गर्ने उद्देश्यले लगेको अर्को गाडी चिसापानीमा नै थन्क्याउनु परेको थियो ।

टेष्ट ड्राइभ जानु अघिल्लो दिन काठमाडौंमा परेको पानीले पनि बाटो हिलो, चिप्लो, खाल्डो सबै किसिमका बनेको थियो । यस्तै बाटोलाई उपयोगी पीकअपको परिक्षण गर्न पाएकाले हामी खुसी नै भयौं ।

टी–८ पीकअपमा १८ इन्चको ह्वील र २२० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स छ । तर, पीकअपमा दिइएको ग्राउन्ड क्लियरेन्सको मज्जा नै बेग्लै हुने । यहाँ चाहिँ पक्का छुन्छ भनेर डराई डराई गाडी लगेपनि कहि कतै छोएन ।

यति खराव बाटोका बाबजुद पीकअपमा कहिँ कतै फारह्वील ड्राइभ लगाउनु परेन । टु ह्वील ड्राइभ र ट्रयाक्सन कन्ट्रोलले नै धेरै खराब बाटोमा पनि गाडीलाई सहज चलाउन सकिन्छ । ककनीसम्मको बाटो कच्ची भएपनि टु ह्वील ड्राइभ मोडमै सहज यात्रा गरियो ।

ककनी पुग्दा पनि फोर ह्वील परिक्षण गर्न नपाएपछि हामी पिकनीक स्पट तिर लाग्यौं । त्यहाँ भर्खरै डोजर लगाएर बनाएका बाटाहरु रहेछन् । जसमा अघिल्लो दिनको पानीले हिलो र चिप्लो दुबै बनाएको थियो । हामीले यही बाटोमा फोर ह्वील परिक्षण गर्ने अवसर पायौ ।

टी–८ मा २.० लिटर टर्बो चार्ज्ड डिजेल इन्जिन दिएको छ । यसले प्रदान गर्ने ३२० एनएम टर्कले यसको पुलिङ क्षमतालाई प्रमाणित गर्छ । एकदमै खराब बाटोमा ‘फोर ह्वील ड्राइभ लो’ अप्सन छनोट गरेर १५ सय आरपीएममा चलाउँदा पीकअप विस्तारै क्रल गर्दै अगाडि बढ्दा ड्राइभिङको उत्कुष्ट अनुभव पाउन सकिन्छ ।

कम्पनीले जेएसीमा सुरक्षाका लागि एबीएस, इबीडी, बीओएस तथा हिल स्टार्ट होल्ड कन्ट्रोल सिस्टम, हाइड्रोलीक ब्रेक असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेहिकल डाइनामीक कन्ट्रोल, इलेक्ट्रोनीक स्ट्यावीलीटी कन्ट्रोल जस्ता फिचर दिएको छ । त्यस्तै अगाडि दुबै साइडमा रहेको एयरव्याग तथा अगाडि र पछाडि दुबै साइडमा दिइएको डिसब्रेकले पीकअप चलाउँदै छुट्टै आत्मवल प्रदान गर्छ ।

हाइ ग्राउण्ड क्लियरेन्स, प्रिमियम फिचर, उत्कुष्ट प्रफर्मेन्सका साथै निकै राम्रो माइलेजको कारण नेपालका सबैखाले बाटामा यो पिकअप उपयुक्त रहेको छ ।

निर्माण व्यवसायी, हाइड्रो पावर प्रोजेक्ट, विभिन्न उत्पादन मूलक उद्योग जस्ता व्यवसायीक फर्म तथा मानिसको लागि यो पीकअप एउटा उत्तम विकल्प बन्न सक्छ ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साँग्रिला अटोमोवाइलले नेपाली बजारमा ल्याएकाले सर्भिस र स्पेयरपार्टका लागि कुनै समस्या नहुने विस्वास गर्न सकिन्छ । अबको केही दिनपछि कम्पनीले यसको आधिकारीक विक्री सुरु गर्दैछ ।


Back_to_top