काठमाडौं । नेपाली बजारमा जेको जे सिक्स टी इलेक्ट्रीक एसयूभीको मूल्य बढेको छ । नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आजदेखि लागू हुने गरी जे सिक्स टीको मूल्य १ लाख रुपैयाँ बढाएको हो ।
यससँगै जे सिक्स टीको नयाँ मूल्य ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत चैत ९ गते लन्च गर्दा जे सिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको थियो । यद्यपि, विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराएको थियो ।
पुरानो जे सिक्सलाई कम्पनीले अझ ठूलो साइज, अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ‘जे सिक्स टी’ नाममा ल्याएको हो । २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको जे सिक्स टीको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।
जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।
लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा ६५.६९ किलोवाट आवरको ब्याट्रीप्याक छ । रियर ह्वील ड्राइभमा उपलब्ध यो एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
चेरीले जे सिक्स टी मोडलमा सबै लाइट एलईडी प्रयोग गरेको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील दिएको कारण नयाँ जे सिक्स थप बक्सी देखिन्छ ।
पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर दिइएको छ । साथै, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेभल–२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।


