काठमाडौं । विश्वकै प्रसिद्ध मध्येको एक ब्राण्ड ज्यागुअरको इलेक्ट्रीक कारमा आगलागीका घटना बढ्दै गएको छ । देख्दै दर्दनाक लाग्ने आगलागीका घटनाले ब्याट्रीको जोखिमलाई निकै महत्वका साथ हेर्नु पर्ने जोखिम औल्याएको हो ।
विश्व प्रसिद्ध ब्राण्डले उत्पादन गरेको आई-पेस स्पोर्टी क्रसओभर मोडल हो । कम्पनीले यसमा एलजी इनर्जी शोलुसनले उत्पादन गरेको ब्याट्री प्रयोग गर्दै आएको थियो । यसअघि पनि एलजीको ब्याट्री विवादमा नआएको भने होइन ।
एलजीको ब्याट्री यसअघि जनरल मोटर्सको बोल्ट र हुन्डाई कोनामा प्रयोग भएको थियो । यी गाडीमा पनि आगलागीको समस्या आएपछि उक्त ब्याट्री निकै विवादमा परेको थियो । यद्यपि, कम्पनीले आफ्नो ब्याट्रीको कारण आगलागी नभएको बताउँदै आयो ।
पछि उक्त घटनाले ठूलो रुप ग्रहण गर्ने देखेपछि एलजीले जनरल मोटर्सलाई १.९ बिलियन डलर र हुन्डाईलाई ६२३ मिलियन डलर बराबरको ब्याट्री परिवर्तनमा खर्च गरेको थियो ।
ज्यागुअर आई-पेशमा पनि सन् २०१९ देखि नै विभिन्न किसिमका समस्या देखिएका थिए । कम्पनीले २०२३ को मेमा आफुले बिक्री गरेका ६ हजार ३६७ यूनिट गाडी रिकल गरेको थियो ।
सन् २०२१ मा ब्याट्री परिवर्तन गरेको आई-पेसमा आगलागीको घटना भएपछि एलजीको ब्याट्री सुरक्षाको विषयमा पुनः बहस सुरु भएको छ । यता ज्यागुअर विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

