अटो शोकै सस्तो १९ लाखको नयाँ कारले ग्राहक तान्दै (भिडियोसहित)

काठमाडौं । जिनपिङ ब्राण्डको लिङबक्स ईसी-०१ ह्याचब्याक कारले नाडा अटो शोमा ग्राहक तानिरहेको छ । ठाकुर मोटर्सले नेपाल ल्याएको जिनपिङ लिङबक्स मूल्यकै कारण धेरैको छनोट बनेको देखिन्थ्यो ।

दुई भेरियन्टमा उपलब्ध लिङबक्स ह्याचब्याकको इन्ट्री भेरियन्ट बेसिकको मूल्य १८ लाख ९९ हजार रुपैयाँ छ । त्यसैगरी, यसको प्रिमियम भेरियन्ट पनि उपलब्ध छ । जसको मूल्य  २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दुवै भेरियन्टमा नाडा अटो शो अफर भनेर कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको छ । कम्पनीका अनुसार यी दुई भेरियन्टको वास्तविक मूल्य क्रमशः १९ लाख ९९ हजार र २४ लाख ९९ हजार रुपैयाँ हो ।

लिङबक्स ह्याचब्याक कारको लम्बाइ ३५८४ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १६६६ एमएम छ । कारमा २४५५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । १५ इन्चको अलोय ह्वील प्रयोग भएको ह्याचब्याक कारमा २९३ लिटर क्षमताको कार्गो स्पेश पाउन सकिन्छ । कम्पनीको दाबी अनुसार ग्राउण्ड क्लियरेन्स पनि २०० एमएम छ ।

विद्युतीय कार भएपछि अर्को महत्वपूर्ण कुरा ब्याट्री साइज पनि हो । यसको बेसिक भेरियन्टमा १९.२ किलोवाट आवर र प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री छ । जसको एनईसीडी रेन्ज क्रमशः २४० र ३४० किलोमिटर प्रमाणित छ ।

अधिकतम गति क्षमता १०१ किलोमिटर प्रतिघण्टा रहेको कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसमा रहेको ब्याट्री चार्ज गर्न ३.३ किलोवाटको एसी चार्जर र ४० किलोवाटसम्मको डीसी चार्जर प्रयोग गर्न सकिन्छ ।

अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि चक्कामा ड्रम ब्रेक रहेको दुवै भेरियन्टमा एबीएस फिचर छ । दुवै भेरियन्टको अगाडि म्यक्फर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्स प्रयोग भएको छ ।

अहिले फेब्रिक सिटमा उपलब्ध कार बिक्री सुरू हुँदा लेदर सिटको साथ आउने कम्पनीले जनाएको छ । म्यानुअल एड्जस्टेबल सिट भएको कारको पछाडिको स्पेस निकै फराकिलो छ । रोटरी डायल गियर नब, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर जस्ता फिचर रहेको कारमा अवलोकनकर्ताको भीड देख्न पाइन्छ ।


Back_to_top