काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रदेशको १ महिनाको माग धान्ने अत्याधुनिक इन्धन डिपो निर्माण गर्ने भएको छ ।
निगममले रुपन्देहीको रोहिणी नदी किनारमा उक्त इन्धन डिपो बनाउन लागेको हो । हालको डिपो घनावस्तीको बीचमा रहेकाले सुरक्षा चुनौती बढाएकाले निगमले उक्त डिपो स्थानान्तरण गर्न लागेको हो ।
काठमाडौं विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागले नयाँ इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी बुधबार निगमलाई हस्तान्तरण गरेको हो ।
डीपीआर अनुसार रूपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा साढे २५ बिघा जग्गामा इन्धन डिपो बनाइने छ । यसको अनुमानित लागत ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपैयाँ (भ्याटबाहेक) रहेको छ ।
निगमका अनुसार नयाँ बन्ने अत्याधुनिक डिपोमा कुल साढे १३ हजार किलोलिटर डिजेल भण्डारण गर्न मिल्ने ४ हजार ५०० किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक निर्माण गरिने छ ।
त्यस्तै, २ हजार १०० किलोलिटर क्षमताका दुई वटा र ७६० किलोलिटर क्षमताको एक भर्टिकल ट्यांकसहित ४ हजार ९६० किलोलिटर पेट्रोल भण्डारण ट्यांक बनाइने छ । मट्टीतेल भण्डारण गर्न कुल २०८ किलोलिटर बराबरको ७६ किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक निर्माण गरिने छ । यी भण्डारणले लुम्बिनीको मागलाई कम्तीमा १ महिना धान्न सक्ने निगमको भनाइ छ ।
डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २ हजार १०० किलोलिटर क्षमताका दुई वटा पानी ट्यांकी निर्माण हुनेछन् । इन्धन लोडिङ र अनलोडिङ सेडमा ८/८ ‘बे’ निर्माण गरिने छ ।
डीपीआर तयार भएकाले अब भदौ भित्रै बजेट स्वीकृत गरी निर्माण थालिने निगमले जनाएको छ । । हाल रोहिणी र ओमसतिया गाउँपालिकामा निगमको स्वामित्वमा साढे ११ बिघा जग्गा छ । उक्त क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउन प्रक्रिया सुरू भइसकेको छ ।

