काठमाडौं । ज्योति विकास बैंकले वेस रेटमा एक प्रतिशत थप गरेर सवारीसाधन कर्जाप्रवाह गर्ने नयाँ अफर सार्वजनिक गरेको छ । बाणिज्य बैंकहरुले लगानीयोग्य रकमको अभाव भन्दै कर्जाप्रवाह लगभग बन्दजस्तै गरेको समयमा ज्योति विकास बैंकले नयाँ कर्जा योजना अगाडि ल्याएको हो ।
‘ज्योति हायर पर्चेज कर्जा’ नाम दिइएको यो योजनामा ऋण लिन चाहने ग्राहकले सम्पूर्ण आवश्यक कागजातसहित आवेदन दिएको तीन कार्य दिनभित्र कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो सकुर्लरअनुसार सवारीसाधनमा जाने कर्जा गाडीको मूल्यको ५० प्रतिशतभन्दा बढी दिन नपाउने निर्देशन दिएको छ । यस्तोमा ज्योतिले एक करोड रुपैयाँसम्मको सवारीसाधन कर्जा दिने उल्लेख गरेको छ । बैंकले २ करोड मूल्यसम्मको गाडी किन्ने कार्यालय वा ब्यक्तिलाई कर्जाप्रवाह गर्न सक्नेछ ।
१० वर्षसम्मको लागि प्रदान गर्ने उक्त कर्जा लिने ग्राहकले सेवा शुल्कमा ०.२५ प्रतिशतले छुट पाउने बैंकले जनाएको छ भने, लकर सुविधामा ५० प्रतिशत छुट दिने उल्लेख छ ।
त्यस्तै, बैंकले आवास कर्जामा समेत वेस रेटमा एक प्रतिशत थप गरेर कर्जाप्रवाह गर्ने योजना अगाडि ल्याएको छ । उक्त कर्जा १ करोड ५० लाखसम्मको हुने र कर्जा अवधि २० वर्षको हुने जनाइएको छ । साथै, बैंकले साना तथा मझौला व्यवसायी कर्जासमेत सोही रेटमा दिने उल्लेख गरेको छ ।
बैंकको वेस रेट १२.४६ प्रतिशत रहेको छ ।

