साँखु-जरसिंहपौवा-नगरकोटको उकालोमा इक्यूट-०४ को रेन्ज टेस्ट (भिडियोमा)

काठमाडौं । सहरी क्षेत्रका लागि उपयोगी केई इक्यूट-०४ लाई हामीले साँखुबाट जरसिंहपौवा हुँदै नगरकोट हाइटसम्मको १६ किलोमिटर लामो उकालो यात्रा गरेका थियौं ।

यस यात्रामा केही अफरोड र केही कालोपत्रे बाटो थियो । जहाँ हामीले इक्यूटलाई चलाएका थियौं । लप्सीफेदी-जरसिंहपौवा-कात्तिके-नगरकोटसम्मको १६ किलोमिटर यात्रा १५ प्रतिशत चार्जले सम्भव भएको थियो । यत्तिको उकालो बाटोमा ठूला ब्याट्री भएका गाडीले पनि प्रतिकिलोमिटर १ प्रतिशत हाराहारी नै ब्याट्री खपत गर्छन् ।

यसलाई नगरकोटदेखि तल सुडालसम्मको ९ किलोमिटर ओरालो बाटोमा रिजेन परीक्षण गरेका थियौं । यो बाटोमा इक्यूट-०४ ले ९ प्रतिशत नै रिजेन गरेको थियो । यसको मतलब सिटी कारमा निकै बलियो रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको हामीले पायौं ।

सुडालबाट बनेपा-धुलिखेल हुँदै नमोबुद्धको नजिकसम्म हामीले यसलाई चलायौं । फर्कँदा पनौती, मानेदोभान, रानीकोट हुँदै सूर्यविनायकबाट थापाथलीसम्मको १४७ किलोमिटर यात्रा गरेका थियौं ।

यो यात्रा उकालो, ओरालो, अफरोड र अनरोड सबै किसिमका बाटोमा भएको थियो । १४७ किलोमिटर यात्रा गर्न ५६ प्रतिशत चार्ज खर्च भएको थियो ।

हामीले टेस्ट ड्राइभ गरेको आधारमा इक्यूटले उपत्यका आसपासको डाँडाकाँडा चढ्दा पनि २४० किलोमिटर आसपास रेन्ज आउने देखियो । होइन सहरी क्षेत्रमा मात्रै चलाउने हो भने २६० किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । जुन सीएलटीसीले प्रमाणित गरेको ३०१ भन्दा ४१ किलोमिटरले कम हो ।


Back_to_top