काठमाडौं । चिनियाँ ब्याट्री निर्माता कम्पनी सीएटीएलले नेपालका लागि आधिकारिक बिक्रेता तोकेको छ । चिनियाँ कम्पनीले नेबुला इनर्जीलाई आधिकारिक बिक्रेता तोकेको हो ।
नेबुला इनर्जीले अब सीएटीएलका ब्याट्री नेपालमै मर्मत गर्नेदेखि आवश्यकपर्दा नयाँ ब्याट्री फेर्नेसम्मको काम गर्नेछ । नेबुला इनर्जीले अहिले गोगोरोका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीले बिक्री गर्ने गोगोरोका स्कुटर स्वापिङ टेक्नोलोजीमा आधारीत रहेको छ । त्यसको लागि कम्पनीले उपत्यकाको ४५ स्थानमा ब्याट्री स्वापिङ सेन्टर संचालन गरिरहेको छ ।
यसअघि एमएडब्लू वृद्धि र सीजी मोटर्सले पनि सीएटीएलको आधिकारिक डिलरसिप लिएका थिए । तर, उनीहरूले विभिन्न ब्राण्डका विद्युतीय साधन बिक्री गर्दै आएकोभन्दै अन्य ब्राण्डको गाडी बिक्री नगर्ने नेबुला इनर्जीलाई आधिकारिक डिलर नियुक्त गरेको बुझिएको छ ।
अहिले नेपाल आउँदै गरेका लाइट कमर्शियल र धेरै ब्राण्डका गाडीमा सीएटीएलको ब्याट्री उपलब्ध छ । ब्याट्रीमा सानोतिनो समस्या आउँदैमा पूरै फेर्नु पर्ने बाध्यताको कारण उपभोक्ता समस्यामा पर्दै आएका थिए । अबभने सीएटीएलका ब्याट्री प्रयोग भएका गाडीलाई सर्भिस नेबुला इनर्जीले दिनेछ ।
नेबुला इनर्जीले काठमाडौंको बाफलमा आफ्नो वर्किङ स्टेशन निर्माण गरिरहेको जनाएको छ ।
‘अहिले हामीले वर्किङ स्टेशन वाफलमा राखेका छौं । ट्रेनिङहरू चलिरहेका छन् । विस्तारै ब्याट्री सेलहरूमा आउने समस्यासम्म समाधान खोज्नेछौं । अहिल्यै ठूलो परिमाणमा ब्याट्री परिवर्तन र मर्मतमा उपलब्ध नभए पनि अब विस्तारै बढ्दै जानेछ,’ नेबुला इनर्जी स्रोतले मेरोअटोसँग भन्यो ।
यसअघि सीएटीएलका ब्याट्रीलाई सर्भिस दिने घोषणा गरेका एमएडब्लू वृद्धि र सीजीले पनि आफूले बिक्री गरेका गाडीलाई निरन्तर सेवा दिने बताएका छन् ।

