काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा २३४ किलोमिटर सडक कालोपत्र भएको छ ।
२९३ किमी लामो यसखण्डमा हालसम्म २३४ किमी सडक कालोपत्र सम्पन्न भएको हो । त्यस्तै, यसखण्डमा ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ६ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर उत्सव बस्यालका हानुसार हाल कालिगण्डकी करिडोरको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
त्यस्तै, वित्तीय प्रगति ७० प्रतिशत पुगेको उनले जानकारी दिए । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माणका लागि १४ अर्ब ७ करोड रुपैयाँ खर्च भएको उनले बताए ।
आर्थिक वर्ष २०६६/६७ मा सुरु गरिएको आयोजना र २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ ।
इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, ०.४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए ।
कालिगण्डकी करिडोरको यसखण्ड गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको छ ।
करिडोर गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ ।
करिडोरको नवलपुरमा ७७.९७ किमी, पाल्पामा ८६.२७ किमी, गुल्मीमा ४१.०६ किमी, बागलुङमा ३४.७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

