जलेका सवारी साधन संसद भवन पछाडि थुपारिने

काठमाडौं । सरकारले सिंहदरवार परिसरमा आगजनी तथा तोडफोड भएका सवारी साधनसहित उपकरणहरू नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) पछाडि थुपार्ने भएको छ ।

मंगलबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले संसद भवन पछाडि थुपारिने सवारी साधन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृया बमोजिम त्यहीँबाट तत्काल लिलामी र नष्ट गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

‘सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्ण रूपमा क्षति भई प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडबाट ध्वस्त हुन पुगेका विभिन्न यन्त्र, उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरको पछाडिको भागमा थुपार्ने,’ बैठकको निर्णयमा भनिएको छ, ‘त्यहाँबाटै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृया बमोजिम तत्काल लिलामी र नष्ट गर्ने प्रकृया अघि बढाउने ।’

आगजनीबाट ध्वस्त भएका सवारी साधन, उपकरण र फर्निचरलाई सिंहदरवार परिसरबाट नयाँ बानेश्वर लैजाने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले मिलाउने छन् ।


Back_to_top