काठमाडौं महानगरले सवारी साधनलाई तोक्यो ५ प्रकारका जरिवाना, के गर्दा कति ?

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गुड्ने सवारी साधनले तोकिएको नियम विपरीत कार्य गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा सवारी साधनलाई विभिन्न ५ शिर्षकमा जरिवाना तोकेको हो ।

महानगरले यी जरिवाना यातायात व्यवस्था ऐनमा भएकाभन्दा बाहेक आफ्नो हिसाबले तोकेको हो ।

यस्तो छ महानगरले तोकेको शिर्षक अनुसारको जरिवाना

१. महानगरले जथाभावी पार्किङ गरेमा ५ हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । तोकिएका स्थान बाहेकका स्थलमा पार्किङ गर्ने मोटरसाइकल, स्कुटरले १ हजार, कार, जीप, डेलिभरी भ्यान जस्ता चारपाँग्रे सवारी साधनले २ हजार ५०० रुपैयाँ, मिनीबस, मिनीट्रक लगायत मझौला सवारी साधनले ३ हजार ५०० रुपैयाँ र बस, ट्रक जस्ता ठूला सवारी साधनले ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

२. सार्वजनिक यातायातको साधनले बस बिसौनी वा तोकिएको स्थान बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

३. सवारीसाधनले ध्वनी प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

४. सवारीसाधनले वायु प्रदूषण गराएमा १ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

५.सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरे/गराएमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।


Back_to_top