तयार हुँदै किया ईभी-३, मूल्य प्रतिस्पर्धी हुने

काठमाडौं । सोल, निरो, ईभी-६, ईभी-९, ईभी-५ पछि कियाले ईभी-३ बजारमा उतार्ने भएको छ । सन् २०२४ मा नै बजारमा आउने ईभी-३ कम्प्याक्ट साइजको एसयूभी हो । यसलाई कम्पनीले ४.४ मिटर सेग्मेन्टमा ल्याउने छ ।

यसमा मोर्डन एक्टेरियर डिजाइन र सस्टेनेवल टेक्नोलोजीको मिश्रण बनाएर बजारमा ल्याउने तयारीमा किया जुटेको छ । गत नोभेम्बरमा भएको ‘एलए अटो शो’मा डेब्यू भएको ईभी-३ अहिले कोरियामा परिक्षण भइरहेको छ ।

फ्यूचरिस्टीक डिजाइन कन्सेप्ट र एजी स्टाइलिङबाट प्रेरित ईभी-३ मा नयाँ एलइडी ग्राफिक्स र ठूलो साइजको मिरर रहनेछ । ईभी-५ मा जस्तै डिजिटल ककपीट कन्सेप्टको इन्टेरियर यसमा रहनेछ । यसमा १२.३ इन्चको सिंगल प्यानल इन्फोटेन्मेन्ट सिस्टम, एडास सिस्टम, अटोमोड नाम दिइएको सेमी अटोनोमस ड्राइभिङ क्यापाबीलीटी रहने छ ।

कियाको ईभी-३ पनि हुन्डाई किया ग्रुपको इजीएमपी आर्किटेक्चरमा निर्माण हुनेछ । ईभी-६ र ईभी-९ जस्तो ८०० भोल्ड आर्किटेक्चरमा नभई बजेट फ्रेन्डली ४०० भोल्ड आर्किटेक्चरमा यसको निर्माण हुनेछ ।

कम्पनीले यसमा उपलब्ध हुने ब्याट्री र मोटर साइजको बारेमा कुनै जानकारी दिएको छैन । तर, विभिन्न रिपोर्टहरुले यसमा ५८ किलोवाट आवरको ब्याट्री प्याक रहने अनुमान गरेका छन् ।

कियाले चिनियाँ बजारमा ईभी-५ लाई २० हजार डलर मूल्य तोकेर बिक्री सुरु गरेसँगै विश्वभर चर्चा पाएको थियो । ईभी-५ भन्दा सानो भएको कारण ईभी-३को मूल्य पनि आकर्षक हुने अनुमान गरिएको छ ।


Back_to_top