अनुमानभन्दा आधा कम मूल्यमा आयो ‘ईभी-५’

काठमाडौं । कोरियन अटो जाइन्ट कियाले चीनबाट आफ्नो ईभी-५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले चीनमा निकै आक्रमक मूल्य तोकेर ईभी-५ सार्वजनिक गरेको हो ।

कम्पनीले किया-५ को सुरुवाती मूल्य २० हजार ७०० अमेरिकी डलर तोकेर चीनबाट यसको बिक्री सुरु गर्न लागेको हो । यसअघि झण्डै ४० हजार डलर मूल्य तोकिने आँकलन गरिएको ईभी-५ आधा कम मूल्यमा आएको हो ।

मूल्यकै कारण अन्य चिनियाँ एसयूभीलाई कडा टक्कर दिने योजना अनुसार कियाले मूल्य निर्धारण गरेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले अगष्ट २५ मा ईभी-५ को प्रिसेल अफर भन्दै २२ हजार १०० डलर मूल्य तोकेको थियो । त्यति बेलाको तुलनामा १ हजार ४०० डलर मूल्य कम गरेर अहिले आएको हो ।

किया ईभी-५ मा ६४.२ किलोवाट आवरको ब्याट्री छ, जुन यसअघि किया निरोमा पनि थियो । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ५ सय ३० किलोमिटरसम्म गुडाउन सक्ने कम्पनीले जनाएको छ । यसमा मोटर भने १६० किलोवाटको मात्रै छ ।

कम्पनीले यसलाई लङ रेन्ज भर्सनमा पनि ल्याउने जनाएको छ । लङ रेन्ज भर्सनमा ८८.१ किलोवाट आवरको ब्याट्री रहन्छ । तर, यसको मूल्य भने सार्वजनिक गरिएको छैन । यसले सिंगल चार्जमा ७ सय २० किलोमिटर रेन्ज दिने बताइन्छ ।

साइजमा पनि किया ईभी-५ निकै ठूलो एसयूभी हो । यसको लम्बाई ४ हजार ६१५ एमएम, चौडाई १ हजार ८७५ एमएम र उचाई १ हजार ७१५ एमएम अग्लो छ ।


Back_to_top