काठमाडौं । भारतीय अटो निर्माता कम्पनी बजाजले ५ नयाँ मोडल बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले ल्याउने नयाँ मोडलमा दुई स्कुटर र तीन नयाँ मोटरसाइकल हुने देखिन्छ ।
सन् २०२४ मा बजाजले आफ्नो पल्सर लाइनअपकै सबैभन्दा पावरफुल मोडल पल्सर एनएस ४०० बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल बजारमा आएपछि पल्सर सिरिजमा १२५ देखि ४०० सीसीसम्मका मोटरसाइकल उपलब्ध हुनेछ ।
कम्पनीको अर्को मोडल पल्सर पी १२५ हुने अनुमान गरिएको छ । यद्यपि, बजाजले पी१५० को उत्पादन बन्द गरेको कारण पी १२५ को सट्टा एन १२५ बजारमा ल्याउने अनुमान पनि गरिएको छ । सबैभन्दा पहिला यहि मोडल बजारमा आउने छ ।
बजाजको तेस्रो मोडल इलेक्ट्रीक स्कुटर हुनेछ । ‘बजाज सन्नी’ नामबाट आउने अनुमान गरिएको नयाँ स्कुटर चेतकभन्दा माथि रहेर आउने छ । चेतक इलेक्ट्रीक बजाजको सफल मोडल हो । सन्नी बजारमा आएसँगै स्कुटर लाइनअपमा बजाज बलियो बन्ने अनुमान गरिएको छ । यसको पुर्णेमा परिक्षण चलिरहेको बताइन्छ ।
सिटी १५० एक्स मोडल बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ । क्लासिक रेट्रो लुक्समा आउने बजाज सिटी १५० एक्समा प्रिमियम फिचरहरु दिएर ल्याउने सम्भावना रहेको छ । यसको पनि बजाजले अहिले परिक्षण गरिरहेको छ ।
कम्पनीले चेतकको कम मूल्यको इन्ट्री भेरियन्ट पनि सन् २०२४ भित्रै बजारमा ल्याउने छ । योसँगै बजाजको ५ नयाँ मोडल आगामी वर्ष बजारमा आउने छन् ।
भारतीय बजारमा आएका अधिकांश मोडल नेपाल पनि आउने भएकाले सन् २०२४ मा बजारमा आउने धेरैजसो मोडल हामी कहाँ पनि उपलब्ध हुनेछन् ।