चार्जिङ नेटवर्कमा साइबर हमलाको जोखिम

काठमाडौं । विद्युतीय गाडी चार्जिङको लागि सबै कम्पनीले मोवाइल एपको प्रयोग गर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणदेखि निजी क्षेत्रले निर्माण गरेको चार्जिङ नेटवर्क एपको मध्ययमबाटै कन्ट्रोल हुन्छ ।

एप भन्ने वित्तिकै साइबर सुरक्षाको विषय महत्वपूर्ण हुन्छ । ह्याकरहरुले यस्ता एप नै नियन्त्रणमा लिन सक्ने जोखिम विश्वब्यापीरुपमा रहेको जानकारहरुको भनाइ छ । त्यसैले सबै देशले चार्जिङ सुरक्षामा सचेत रहन आफ्ना सरोकारवाला निकायलाई निर्देशन दिइरहेका छन् ।

‘चार्जिङ पूर्वाधारको अप्रेशन एपबाटै हुने गर्छ । यस्तोमा एप ह्याकरको पहुँचमा पुग्न सक्छ । उसले चाँहदा पुरै नेटवर्क नै कब्जामा लिने अवस्था सृजना हुन सक्ने देखिन्छ । त्यसैले पनि एप निर्माण गर्दा नै ठूलो लगानी गर्नु पर्ने हुन्छ’, आइटी इन्जिनियर सोमेस रिजालले भने ।

विशेषत साइबर आक्रमणको जोखिम यस्ता अत्यावश्यक सेवा दिने स्थानमा धेरै हुने रिजालको भनाइ छ ।

यदि अत्यावश्यक क्षेत्रमा केही घन्टा मात्रै पनि सेवा अवरुद्ध भएको खण्डमा त्यसले ठूलो हलचल पैदा हुने भएकाले पनि यी क्षेत्रलाई ह्याकरहरुले विशेष ‘टार्गेट’ बनाउने गर्छन् ।

अहिले धेरै कम्पनीले नेपाल बाहिर नै एप बनाएर ल्याएका छन् । कम्पनीहरुका अनुसार सुरक्षाको हिसावले आफुहरुको एप बलियो रहेको उनिहरुको भनाइ छ ।

‘कुनैपनि विषयमा ह्याकरले दुःख दिने नियतभन्दा पनि डेभलपरसँग आफु तेरो सिस्टमभन्दा स्मार्ट रहेको देखाउन ह्याक गर्ने गरेको देखिन्छ । अहिलेकै अवस्थामा हाम्रा सिस्टममा ह्याकरले आँखा लगाउँछन् जस्तो लाग्दैन । ईभीको संख्या कम, चार्जिङ नेटवर्कको संख्या कम र करोबार रकम पनि कम भएको अवस्थामा धेरै समस्या देखिदैन’, एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने ।

अर्यालका अनुसार सबै कम्पनीले आफ्नो आईटी बलियो भने बनाउनु पर्छ । त्यसको लागि राम्रोसँग मोनिटरिङ गर्ने, सुरक्षा फिचर थप्ने र एड्भान्स टेक्नोलोजीको प्रयोग गर्ने गर्नुपर्छ । अन्यथा ह्याकरले हाम्रा सिस्टममा क्षती पु¥याउन सक्नेछन् ।

अहिले नेपालमा १५० हाराहारी फास्ट चार्जिङ नेटवर्क संचालनमा रहेका छन् । हाइवेमा बनेका चार्जरले विद्युतीय गाडी चढ्नेलाई निकै सहज बनाएको छ । यस्तोमा हाम्रा सिस्टमहरु सुरक्षीत बनाउन सरोकारवालाहरुले ध्यान दिन जरुरी हुन्छ ।


Back_to_top