दुई पाँच तारे होटलको बीचमा रहेको सडक वाकिङ हेरिटेज बन्दै (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानरपालीका वडा नम्बर एक नक्साल भगवती मन्दिरदेखि नन्दी स्कुलको पछाडिसम्म रहेको सडकलाई वाकिङ हेरिटेजको रुपमा विकास गर्न निर्माण कार्य धमाधम भइरहेको छ । उक्त सडकमा अहिले ढल हाल्ने काम चलिरहेको छ ।

पाँच तारे होटल मेरियट र नयाँ संचालनमा आउँदै गरेको हिल्टन होटल जोड्ने सडक वाकिङ हेरिटेजमा विकास गर्न लागिएको हो । अहिले काठमाडौं महानगरको खर्चमा उपत्यका ढल विकास समितिले ढल हाल्ने काम गरिरहेको वडा अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।

‘असार १९ गतेभित्र ढल निर्माणको काम सक्नेगरी ठेक्का दिइएको हो । अब थोरै ढलहाल्न बाँकी छ । ढलको काम सकिएपछि उपत्यका विकास प्राधिकरणले ‘नक्साल वाकिङ हेरिटेज’ निर्माणको काम थाल्ने छ’ वडाअध्यक्ष श्रेष्ठले भने ।

अहिले निर्माण कार्य चलिरहेको सडक करिब ५०० मिटर रहेको छ । उक्त क्षेत्रमा थुप्रै पुरातत्वसँग जोडिएका संरचना छन् । तीनको ब्यवस्थापनसँगै ढुङ्गा छाप्ने काम अगाडि बढ्ने छ ।

स्थानियवासीन्दाहरुका अनुसार बिक्रम सम्बत २०२४ सालमा भैरब मन्दिरलाई पुरेर सडक निर्माण गरिएको थियो । सडकको बीचमै रहेको भैरब मन्दिरले मान्छे तान्ने गरेको उक्ति अहिले पनि सुन्न पाइन्छ । किन भने सडकको बीचमा रहेको भैरब मन्दिरमा आवत जावत गर्नेहरु खस्ने गर्थे ।


Back_to_top