चाँडै बुकिङ खुल्दै ‘विलिङ विङ्गो’, रेन्ज ४०० किलोमिटर

काठमाडौं । विलिङको आधिकारीक बिक्रेता ईभी नेपाल मोटर्स प्रालिले विलिङ विङ्गो मोडल चाँडै नेपाल ल्याउने भएको छ । विलिङ-जीएम-एसएआईसीको संयुक्त लगानीमा बनेको विङ्गो मोडल हो ।

विलिङ विङ्गो गत मार्चमा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । अब इन्डोनेशियामा बिक्री सुरु भएको कारण चाँडै नेपाल ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।

‘हामीले इन्डोनेशियामा उत्पादन भएको मोडल नेपाल ल्याउने छौं । त्यहाँ यसको बिक्री सुरु भएको छ । हामी छिट्टै नेपालमा बुकिङ खुल्ला गर्ने योजनामा छौं’ ईभी नेपाल मोटर्सका प्रबन्ध निर्देशक प्रकाश बज्राचार्यले मेरोअटोसँग भने ।

बज्राचार्यका अनुसार सम्भव भएसम्म जनवरीमा यसको डेलिभरी दिने तयारीमा कम्पनी रहेको छ । इन्डोनेशियामा राइट ह्याण्ड ड्राइभ कार उत्पादन हुने भएको कारण सहजै नेपाल आउने छ ।

नेपाल आउन लागेको विलिङ विङ्गोे एक प्रिमियम ह्याचव्याक कार हो । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

विलिङ विङ्गोे दुई डिजिटल स्कृनको साथ आउने छ । यसमा ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर छ । साथै, सूचना र मनोरन्जनको लागि १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्कृन पाउन सकिन्छ ।

विलिङले विङ्गो मोडललाई इन्डोनेशियाली बजारमा ३१.९ र ३७.९ किलोवाट आवरको दुई फरक साइजमा ‘लिथियम फेरो फस्फेट’ ब्याट्रीमा उपलब्ध गराएको छ ।

सानो साइजको ३१.९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३३३ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । साथै, लङ रेन्ज मोडलले ४१० किलोमिटर दिने कम्पनीले दावी गरेको छ । यसमा रहेको ब्याट्रीलाई रिचार्ज गर्न ३० किलोवाटको डीसी फास्ट चार्जरले ३५ मिनेट र एसी चार्जरलाई ९.५ घण्टासम्म लाग्छ ।

विलिङले प्रिमियम ह्याचव्याकमा १५ इन्चको ह्वील दिएको छ । विङ्गोे मोडलमा ४९ किलोवाटको मोटर छ । जुन नेपालमा सबैभन्दा कम कर लाग्ने मोटर सेग्मेन्टमा पर्छ । यसको पीकटर्क भने १५० न्यूटन मिटर रहेको छ । फ्रन्ट ह्वील ड्राइभ मोटर सेटअप भएको विङ्गोको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहको छ ।

यसको मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top