काठमाडौं । कियाले आफ्नो फुल साइज एसयूभी ईभी-९लाई सिंगल चार्जमा ५४१ किलोमिटर रेन्ज दिनेगरी बजारमा उतारेको छ । कम्पनीको यति ठूलो एसयूभीमा डब्लूएलटीपीको परक्षिणबाट नै ५४९ किलोमिटर रेन्ज पाउने देखिएको हो ।
ईभी-९ लाई कियाले दुई ब्याट्री अप्सन, दुई ड्राइभिङ सिस्टम र दुई फरक मोटर साइजमा ल्याएको हो । कम्पनीले रियर ह्वील ड्राइभ सिस्टम भएको भर्सनसँग १६० किलोवाटको मोटर र ७६.१ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ ।

रियर ह्वील ड्राइभ भर्सनले अधिकतम २१५ हर्सपावर र ३५० एनएम टर्क प्रदान गर्छ । यो भर्सनले शून्यदेखि ६२ किलोमिटर प्रतिघण्टाको स्पीड केबल ८.२ सेकेन्डमा भेट्टाउन सक्नेछ ।

त्यसैगरी ईभी-९ को लङ रेन्ज मोडल पनि दुई फरक भेरियन्टमा बजारमा आउने छ । यसलाई कम्पनीले रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा ल्याउने छ । लङ रेन्ज मोडलमा ९९.८ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा केवल १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान हुनेछ । ठूलो ब्याट्री र केही सानो ब्याट्री भएको कारण यसले सिंगल चार्जमा ५४१ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

ईभी-९को अल ह्वील ड्राइभ अप्सनमा निकै ठूलो २८३ किलोवाट आवरको मोटर छ । अल ह्वील ड्राइभले कति रेन्ज दिन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । हुन्डाई मोटर्स ग्रुपले विकास गरेको अल्ट्रा फास्ट ८०० भोल्ट चार्जिङ सिस्टमको कारण ईभी-९ लाई केवल १५ मिनेट चार्ज गर्दा २३८ किलोमिटर चलाउन सकिन्छ ।
सुरक्षा र आरामदायी यात्राको हिसाबले निकै प्रिमियम ईभी-९ मा हाइवे ड्राइभिङ पाइलट, लेभल थ्री अटोनोमश सिस्टम, १५ वटा सेन्सर, कियाको डिजिटल की, एडभान्स ड्राइभर एसिस्ट्यान्स जस्ता फिचर यसमा पाउन सकिन्छ ।


