काठमाडौं । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयूभी डेलिभरी पाउने भएका छन् ।
नेपालका लागि कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हो ।
उक्त गाडीको कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेकोले लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने कम्पनीले अनुमान गरेको छ ।
एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयूभीमा ६४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएच पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ ।
डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने छ । यसमा रहेको एसी चार्जरलाई घरायसी बत्तिबाट घरमै चार्ज गरेर गुडाउन सकिन्छ ।


