काठमाडौं । किया मोटर्सले उत्पादन गरेको इलेक्ट्रीक कार निरो काठमाडौं आइपुगेको छ । मंगलबार काठमाडौंमा रहेको कियाको गैह्रीधार स्थित स्वरुममा निरो राखिएको हो । कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले दक्षिण कोरियाबाट ल्याएको निरो बुधबारदेखि ग्राहकलाई हस्तान्तरण गर्ने जनाएको छ ।

कन्टिनेन्टलले किया निरोको मूल्य ६६ लाख ९० हजार रुपैयाँ कायम गरेको छ । कम्पनीका अनुसार पहिलो लटमा उक्त मूल्यमा उपलब्ध गराएको निरो अर्को लटमा भने मूल्य बढ्न सक्ने छ । पहिलो लटमा किया निरो ६९ वटा ल्याइएको कम्पनी डीजीएम अनिस लामिछानेले जानकारी दिए । नेपाल आइपुगेको निरो यसअघि नै सबै बुकिङ भइसकेको उनको भनाई छ ।
पछिल्लो समय इलेक्ट्रीक गाडीमा उपभोक्ता र सरकारको आर्कषण बढ्दै गएकाले कम्पनीले सर्वाधिक माइलेज दिने इलेक्ट्रीक कार ल्याएको हो । सरकारले डिजेल/पेट्रोल कारको बिक्रीमा कडाई गर्ने नीति तथा इलेक्ट्रीक कारमा कर छुट र सवारी कर्जा सहज बनाएकाले इलेक्ट्रीक कारको आयात बढेको छ ।

कन्टिनेन्टलले यस अघि किया सोल इलेक्ट्रीक कार नेपाली बजारमा बिक्री गर्दै आएको छ । सोलबाट राम्रो प्रतिकृया पाएको कम्पनीले कोरियाबाट निरो ल्याएको हो ।
किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गती तय गर्न सक्ने दाबी कम्पनीको छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ ।
पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रीक कारमा पनि प्रतिस्पर्धा देखिएको छ । केही महिना अघि हुन्डाईले कोना इलेक्ट्रीक एसयूभी नेपाल ल्याएको थियो । अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक कार ल्याउने क्रममा रहेको जनाएका छन् ।

