काठमाडौं । किया मोटर्सको भारतीय उत्पादन सेल्टोसले पहिलो महिनाको बिक्रीमा रेकर्ड बनाएको छ । भारतमा सार्वजनिक भएको पहिलो महिनामा नै सेल्टोसको बिक्री ६ हजार २०० युनिट भएको हो ।
सार्वजनिक अघि नै सेल्टोसको बुकिङ्ग २३ हजार युनिट भइसकेको थियो । कम्पनीले बिक्री गरेको ६ हजार २०० युनिट अहिलेसम्मको कुनै पनि नयाँ गाडीले बनाएको सर्वाधिक धेरैको रेकर्ड हो ।
सार्वजनिक भएको पहिलो महिनामा नै भारतीय बजारमा कियाले प्रिमियम कार उत्पादक स्कोडा, फक्सवागन, निशान, डाट्सन र इसुजुलाई पछि छाड्दै अगाडि आएको हो ।
किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले पनि किया सेल्टोसको बुकिंङ खुल्ला गरेको छ । कम्पनीले नेपालको फेस्टिभ सिजनमा सार्वजनिक गर्ने तयारी गरिएको एसयुभीको बुकिंङ नाडा अटो शो २०१९ मा खुल्ला गरेको हो ।
नेपालमा पनि ग्राहकले पाँच हजार रुपैयाँ तिरेर सेल्टोस बुकिङ गर्न सक्नेछन् । कम्पनी स्रोतका अनुसार नाडा अटो शोमा करिब १०० यूनिट सेल्टोस बुकिङ भएको कम्पनीले जनाएको छ । नेपालमा यसको सुरुवाति मूल्य ४३ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।
किया सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ ।
यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
१७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्पले एसयूभीलाई निकै आकर्षक बनाएको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

