काठमाडौं । किया मोटर्सको नेपालको लागि आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले विभिन्न ७ मोडलका कार नेपाली बजारमा विक्री गर्दै आएको छ । कम्पनीले सोरेन्टो, पिकान्टो, कानिर्भल, निरो इलेक्ट्रीक, स्पोटाज, सेल्टोस र सोनेट विक्री गर्दै आएको हो । यी मध्य एक वर्षमा कम्पनीले सबैभन्दा धेरै सेल्टोस एसयूभी नेपाल ल्याएको छ ।
अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ सकिएको छ । यस्तोमा कम्पनीले १ अप्रिल, २०२० देखि ३१ मार्च, २०२१ सम्म नेपाल आयात गरेको तथ्यांकलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
सन् २०१९ सम्म कोरियामा उत्पादन भएका गाडी मात्रै नेपालमा विक्री वितरण गर्दै आएको कन्टिनेन्टल ट्रेडिङले सन् २०२० को सुरुवातबाट कियाको भारतीय उत्पादन विक्री सुरु गरेको हो । भारतीय उत्पादनको विक्री सुरु गरेसँगै कम्पनी नेपालमा धेरै गाडी आयात र विक्री गर्ने सूचीमा तेस्रो स्थानमा उक्लेको छ ।
कोभिड १९ को अत्याधिक चपेटामा परेको वर्ष २०२०/०२१ मा कम्पनीले १२४५ यूनिट गाडी आयात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा कम्पनीले सबैभन्दा धेरै यूनिट कियाले भारतमा उत्पादन गरेको सेल्टोस नेपाल ल्याएको छ । कम्पनीले सेल्टोसको विभिन्न भेरियन्ट एचटीइ, एचटीएक्स, एचटीके प्लस, एचटीएक्स आइभीटी नेपाल ल्याएको देखिन्छ ।

कन्टिनेन्टलले एक वर्षमा ७९८ यूनिट किया सेल्टोस नेपाल ल्याएको हो । दोस्रो धेरै आयात पनि भारतमा उत्पादन भएको सब फोर मिटर एसयूभी सोनट रहेको छ । कम्पनीले विभिन्न ४ भेरियन्टमा सोनेट नेपाल ल्याएको देखिन्छ । जसमा एचटीइ, एचटीके प्लस, जिटीएक्स प्लस र एचटीएक्स भेरियन्ट नेपाल आएका हुन् । कम्पनीले एक वर्षमा ३५६ यूनिट सोनेट नेपाल ल्याएको छ ।
कियाको चर्चित एसयूभी स्पोटाज कोरियामा उत्पादन भएको मोडल हो । कम्पनीले एक वर्षमा ८६ यूनिट स्पोटाज नेपाल ल्याएको छ । यी तीन मोडल बाहेक कम्पनीले इलेक्ट्रीक निरो २ यूनिट, कार्निभल लग्जरी एमपीभी १ यूनिट, पिकान्टो इएक्स १ यूनिट र सोरेन्टो १ यूनिट आयात गरेको देखिन्छ ।

